काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।
पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।
धान दिवस
विसं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।
यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ । तर देशका विभिन्न स्थानमा किसानले पर्याप्त मल पाउन सकेका छैनन् ।
देशभर धमाधम रोपाइँ जारी
समयमै मनसुन सुरु भएपनि यस पटक धान रोपाइँ देशभर १७ दशमलव दुई प्रतिशत क्षेत्रमा मात्रै भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी अर्थात् ४० प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ ।
कर्णाली प्रदेशमा २३ दशमलव नौ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, धानको भण्डारको रुपमा परिचित मधेश प्रदेशमा भने सबैभन्दा कम अर्थात् आठ दशमलव दुई प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।
यसैगरी कोशी प्रदेशमा १३ दशमलव सात प्रतिशत, वाग्मतीमा १९ दशमलव छ प्रतिशत, लुम्बिनीमा १८ दशमलव पाँच प्रतिशत धान रोपाइँ भएको छ । त्यस्तै, गण्डकी प्रदेशमा १२ दशमलव चार प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ ।
सरकारले धान उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ सहज रुपमा रासायनिक मल उपलब्ध गराउने र उन्नत बीउको प्रबन्ध गरेको छ । सयममै मनसुन समेत शुरु भएकाले यस बर्ष उल्लेख्य रुपमा धान खेती हुने अपेक्षा गरिएको छ ।
नेपालमा करिब १४ लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेती गरिन्छ । देशभरका ७७ जिल्लामध्ये ७५ जिल्लामा धान खेती हुने गरेको छ । कुल खेतीयोग्य जमिनको करिब ५० प्रतिशत क्षेत्रमा धान खेती गरिने तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस