२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह, उत्पादित धान बिक्री नहुँदा किसान मारमा

शनिवार , आषाढ २१, २०८२

कैलाली । कैलालीको भजनी नगरपालिका–३ का सन्तलाल चौधरी चैते धान बिक्री नभएर चिन्तामा छन् । यसवर्ष तीन बिघाहमा लगाएको धान उनले अझैँ बिक्री गर्न सकेका छैनन् । व्यापारीलाई धान खरिद गरिदिन हारगुहार गर्दा पनि उत्पादन गरेको धान बिक्री हुन नसकेको हो ।

“व्यापारीले सस्तोमा धान खोज्छन् । उनीहरुले भनेको दररेटमा धान बिक्री गर्दा आफ्नो लागत नै उठ्ने देखिँदैन ।” उनी भन्छन्, “आजभोलि धान रोपेर पछुतो लागिरहेको छ ।” सरकारले चैते धानको समर्थन मूल्य तोकेको भए पनि त्यो मूल्यमा व्यापारी किसानको धान खरिद गर्न इच्छुक देखिएका छैनन् । किसानले प्रतिक्विन्टल दुई हजारदेखि दुई हजार ५०० सम्ममा बिक्री गरिरहँदा कतिपय किसानको त्यतिमा पनि धान बिक्री हुन सकेको छैन ।

गत वर्ष प्रतिक्विन्टल तीन हजार ८०० रुपैयाँ पाएका किसानलाई यसवर्ष उत्पादन बढेपछि धान बिक्री गर्न समस्या भएको अर्का किसान डल्लु दास बताउछन् । “गतवर्ष मैले नै तीन हजार ८०० प्रतिक्विन्टल चैते धान बिक्री गरेको थिए ।” उनले भने, “यसवर्ष त्यहीँ धान बिक्री गर्नका लागि व्यापारीसँग हारगुहार किसानले गरिरहेका छन् ।” उनका अनुसार कैयौँ किसानले उधारोमा पनि धान व्यापारीलाई दिएका छन् । पैसा कहिले पाइने भन्ने ग्यारेन्टी नभएर पनि किसानले व्यापारीलाई धान बिक्री गर्न थालेको डल्लु बताउछन् ।

भजनी नगरपालिका–५ लालभोझीका कृषि बुढाले उत्पादन गरेको धान उधारोमा जबरजस्ती व्यापारीको जिम्मा लगाउनुपरेको गुनासो गरे । उनले नगदमा उत्पादन गरेको वस्तु उधारोमा बेच्नु पर्ने बाध्यता आइपरेको बताए। “एक बिघा क्षेत्रफलमा चैते धान लगाउँदा झण्डै १८ हजार खर्च आउँछ । उत्पादन भएको धान बिक्री गर्नलाई बजार छैन । कसैलाई बेच्नु पर्ने भए पनि लागत भन्दा कममा बिक्री गर्नुपर्ने बाध्यता छ ।” उनले भने, “न्युनतम दररेट तोकेको सरकारले कम्तिमा भनेकै दररेटमा धान खरिदको व्यवस्था गरिदिएको भए किसान हतोत्साहित हुने स्थिति आउने थिएन ।”

भजनीमा यसवर्ष झण्डै एक हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा चैते धानको खेती भएको थियो । उत्पादनका हिसाबले किसानमा वर्षेनी आकर्षण बढ्दै गएको भए पनि बजारीकरणले सधैँ धोका हुने गरेको किसान परदेशु चौधरीको भनाइ छ । उनले गतवर्ष धानको राम्रो रेट पाएपछि यसवर्ष दुई बिघाह बिस्तार गरेको बताउँदै अहिले त्यो विस्तार गरेकोमा पछुतो लाग्न थालेको बताए । “ उत्पादन राम्रो भएका कारण किसानको आकर्षण बढ्दै गएको छ ।” उनले भने, “उत्पादन भएको धान बिक्रीका लागि हुने समस्याले आगामी वर्षमा उत्पादन घट्ने सम्भावना देखिएको छ ।”

वर्षात सुरु भइसकेका कारण किसानलाई उत्पादन भएको धान व्यवस्थापनमा चुनौती थपिएको छ । बाढी र डुवानको उच्च जोखिममा रहेको भजनी सामान्य वर्षामा डुवानमा पर्छ । डुवान भएपछि उत्पादन भएको धानलाई कहाँ व्यवस्थापन गर्ने भन्ने अर्को चिन्ता किसानलाई छ । “व्यापारीले समयमा धान खरिद नगरे उत्पादन भएको धान कता राख्ने भन्ने चिन्ता छ ।” स्थानीय भोजराज कठरिया भन्छन्, “वर्षातको समयमा घर बाढीले डुवाउँदा आफै हुलाकी सडकमा जानुपर्ने बाध्यता हुन्छ । खानका लागि राखिएको अन्नपात त जोगाउन सकिँदैन भने यत्रो धान कसरी व्यवस्थापन गर्ने होला ?”

कैयौँ किसानले उत्पादन गरेको धान आज पनि हुलाकी सडकमै छ । घरमा राख्ने ओभानो ठाउँ नभएपछि किसानले धान घर नलिएर व्यापारी खोजिरहेका छन् । किसानलाई दबाबमा राखेर सस्तोमा धान खरिद गर्ने दाउ व्यापारीले खोजिरहेका छन् । “हामी किसानको समस्या देखेर निकै चिन्तित छौँ । हरेक निकायलाई गुहार माग्दा पनि समस्या समाधान हुन सकेको छैन ।” भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले भने, “प्रदेश सरकार, साल्ट ट्रेनिङ, सङ्घीय सरकारसँग पनि किसानले उत्पादन गरेको धान खरिदको लागि आग्रह गर्दै आएका छौँ, सुनुवाइ भएको छैन ।”

उनले धानको समर्थन मूल्य तोकेको सरकारले धान खरिद गरेर सहजीकरण गरिदिन पनि आग्रह गरे । “आज सयौँ क्विन्टल धान उत्पादन भएको छ । सरकारले धान खरिद नगर्दा त्यसको फाइदा व्यापारीले उठाएका छन् ।” उनले भने, “आज किसानले लागतभन्दा कम मुल्यमा धान बेच्न विवश छन् भने भोली त्यो किसान कृषिमा कसरी उत्साहित बन्न सक्ला ?” भजनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको चैते धान जोन सञ्चालन हुँदै आएको छ । धान जोनका कारण यसवर्ष भजनीमा चैत धान विस्तार विगतको भन्दा बढेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट