काठमाडौँ । नेपालबाट भारततिर तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा नियन्त्रण गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले उक्त मदिरा नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार नेपालका सिमावर्ती बजारहरुबाट मदिरा संकलन गरी भारत तस्करी गर्न लागिएको विभिन्न ब्राण्डका ५०० कार्टुन मदिरा बरामद गरिएको हो । उक्त कार्यमा जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गौतम केसी नेतृत्वको प्रहरी टोली खटिएको थियो ।
एसपी केसीको नेतृत्वको सो टोलीले तस्करीमा संलग्न ३५ वटा साइकल र केही मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
सीमापार तस्करी गर्ने समुहले नेपालका विभिन्न बजारबाट मदिरा संकलन गरी नजिकै गोदाममा राख्ने गरेको थियो । गोदाममा संकलन भएको उक्त मदिरा भारतीय सीमा नजिक अर्को गोदाममा स्टोर गर्ने गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दशगजा क्षेत्रमा बाँसको अस्थायी गोदाम बनाएर मदिरा तस्करी गर्ने गरिएको थियो । सो क्षेत्रबाट ठूलो परिमाणमा मदिरा तस्करी भइरहेको भन्ने सुचना प्राप्त भएपछि प्रहरीको टोली खटिएको थियो । प्रहरी सो क्षेत्रमा पुग्दा तस्करहरुको भागाभाग भएको थियो ।
प्रतिक्रिया दिनुहोस