काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार पुर्याइएको छ । लामिछानेलाई आज रुपन्देही कारागारबाट सरुवा गरी नख्खु ल्याइएको हो ।
कारागार सरुवाका लागि लामिछानेले दिएको निवेदनको आधारमा नै कारागार व्यवस्थापन विभागले गरेको निर्णय अनुसार उनलाई नख्खु ल्याइएको हो ।
रविलाई ल्याएर बुद्ध एयरको विमान ४ः४० बजे भैरहवाबाट काठमाडौं उडेको थियो ।
उनको स्वागतमा नख्खु कारागारमा पार्टीका सांसद, नेता तथा समर्थकहरू बाक्लो सँख्यामा पुगेका छन् । उनीहरूले लामिछानेमाथि प्रतिशोध भएको भन्दै उनको पक्षमा चर्काे नाराबाजी गरिरहेका छन् ।
सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर रविलाई जहाजमार्फत त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँबाट आवश्यक सुरक्षा व्यवस्थाका साथ गाडीमा नक्खु लगिएको प्रहरीले जनाएको छ । भीड बढी भएकाले उनको सुरक्षालाई ध्यानमा राखेर नेपाल आयल निगमको बाटो भएर विमानस्थलबाट नक्खु लगिएको प्रहरीले जनाएको छ ।
कारागार स्रोतका अनुसार रवि नख्खु कारागारस्थित ‘सीआरसी’ ब्लकमा रहनेछन् । रविलाई त्यो ब्लकको एउटा छुट्टै कोठामा राख्ने तयारी छ ।
रविलाई राखिएको उक्त ब्लकमा करिब ४ सय कैदीबन्दी छन् ।
उच्च अदालत बुटवलको आदेशपछि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारगारमा थिए ।
उनले गत जेठमै कारागार सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिए पनि गृहमन्त्री रमेश लेखकको दबाबमा रोकिएको थियो । उनलाई कारागार स्थानान्तरण नगर्दा सरकारको आलोचनापछि सरकार उनलाई काठमाडौँ ल्याउन तयार भएको हो ।
प्रतिक्रिया दिनुहोस