काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीकै अगाडि पुगेको बताएका छन् । प्रसाईंले सोमबार पत्रकार सम्मेलन आयोजना गरेर ०८१ साल चैत १५ गते काठमाडौंको तीनकुने घटनाबारे बोल्दै यस्तो बताएका हुन् ।
उनले मार्ने योजना भएको सूचना पाएपछि प्रहरीकहाँ सुरक्षाका लागि पुगेको बताएका हुन् ।
प्रसाईंले सो दिनको घटनाबारे भने, ‘मलाई इन्काउन्टर गर्ने आदेश रहेछ । किनभने, यो देशमा मदन भण्डारी बाँचेको थियो भने अरुको चान्स आउँदैन थियो । त्यही भएर मदन भण्डारीलाई मारियो ।’
उनले आफू मञ्चमा पुगेर प्रहरी र आफ्ना समर्थकलाई संयमित हुन आग्रह गरेको बताए । त्यतिबेलै एक जना सिभिलका प्रहरीले आफूलाई मार्ने योजना रहेको जानकारी गराएको र लगत्तै आफूले उपत्यका छाडेको प्रसाईंले बताएका छन् ।
उनले उपत्यकामा कर्फ्यु लाग्दा काठमाडौं उपत्यका छाडिसकेको पनि बताए । राज्यसत्ता आफूहरुसँग डराएको उनले दावी गरे ।
उनी लामो समय थुनामा रहेर बाहिरिएका हुन् । उनी दुई साताअघि डिल्लीबजार कारागारबाट छुटेका थिए ।
प्रतिक्रिया दिनुहोस