काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा वाणिज्य बैंकहरुले ८ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाउन सफल भएका छन् । यद्यपी, यो नाफा अघिल्लो वर्षको तुलनाको समिक्षा अवधिमा भन्दा कम हो । अघिल्लो वर्ष यस्तो नाफा ९ अर्ब १७ करोड ६१ लाख थियो।
चालू आर्थिक वर्षको साउनमा २० वटा वाणिज्य बैंकले ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। यो अवधिमा सर्वाधिक नाफा कमाउने शीर्ष स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ भने वृद्धिदरमा नेपाल बैंक अगाडि छ।
चालू वर्षको साउनमा ग्लोबल आइएमई बैंकले ७८ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको साउनको तुलनामा १२.०९ प्रतिशत कम हो। अघिल्लो वर्षको साउनको तुलनामा चालू वर्षको साउनमा ११ वटा वाणिज्य बैंकको नाफा घटेको छ भने ९ वटाको बढेको छ।
त्यस्तै, सर्वाधिक नाफा आर्जन गर्ने दोस्रो स्थानमा नबिल बैंक रहेको छ। समीक्षा अवधिमा बैंकले ७१ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष साउनमा बैंकले ८० करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यस्तै, उच्च नाफा आर्जन गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ भने सबैभन्दा कम कृषि विकास बैंकले ३७ लाख ५० हजार रुपैयाँ मात्रै नाफा कमाएको छ। अघिल्लो वर्ष साउनमा बैंकले ७१ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
प्रतिक्रिया दिनुहोस