काठमाडौं। टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपाल आज कतारसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार राति ८:४५ बजे ओमानमा सुरु हुनेछ।
नेपालले सुपर सिक्सको पहिलो खेलमा यूएईविरुद्ध एक रनको रोमाञ्चक जित निकालेको थियो। कतार भने हिजो ओमानसँग ३४ रनले पराजित भएको थियो।
नेपाल प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ। सुपर सिक्स अन्तर्गत आज ओमान र युएईबीच पनि खेल हुँदैछ, जुन नेपाली समय अनुसार दिउँसो ४:१५ बजे हुनेछ।
सुपर सिक्सको खेलपछि शीर्ष तीन टोली आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुने छनोटमा प्रवेश गर्नेछन्।
सुपर सिक्समा नेपाल, यूएई, ओमान, कतार, सामोआ र जापानबीच प्रतिस्पर्धा जारी छ।
प्रतिक्रिया दिनुहोस