२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

शनिवार , कार्तिक १५, २०८२

नयाँदिल्ली/एएफपी । आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबिच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ ।

भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका अधिकारीहरूले ‘चयन गरिएका’ तीर्थयात्री समूहलाई सिख धर्मका संस्थापक गुरु नानकदेवको जन्मजयन्तीको १० दिने चाडमा सहभागी हुन अनुमति दिएको उल्लेख गरेका छन् ।

यसअघि मे महिनामा दुवै राष्ट्रबिच भएको घातक झडपले सम्बन्ध अत्यन्त तनावपूर्ण बनेको थियो । सन् १९९९ पछि सबैभन्दा गम्भीर मानिएको उक्त द्वन्द्वमा मिसाइल, ड्रोन र तोपको आदानप्रदान भएको थियो, जसमा ७० जनाभन्दा बढीले ज्यान गुमाएका थिए । त्यसपछि सामान्य सवारी–साधनका लागि खुला रहने भूमि नाकाहरू बन्द गरिएका थिए ।

नयाँ दिल्लीस्थित पाकिस्तानी उच्च आयोगले भारतबाट आएका सिख तीर्थयात्रीहरूलाई दुई हजार एक सयभन्दा बढी भिसा जारी गरिएको जनाएको छ । ती तीर्थयात्रीहरू पाकिस्तानको ननकाना साहिब सहरमा हुने गुरु नानकको जन्मोत्सवमा सहभागी हुने अपेक्षा गरिएको छ । ननकाना साहिब भारत–पाकिस्तान सीमाबाट करिब ८५ किलोमिटर पश्चिममा अवस्थित छ, जहाँ प्रत्येक वर्ष दशौँ हजार श्रद्धालु भेला हुने गर्छन् । यस वर्षको उत्सव मङ्गलबारदेखि आरम्भ हुने बताइएको छ ।

सन् १९४७ मा ब्रिटिश शासनको अन्त्यसँगै भारत र पाकिस्तानको विभाजन हुँदा बनाइएको यो सीमा आजसम्म पनि दुई देशबीच संवेदनशील विन्दु रहँदै आएको छ । अटारी–वाघा नाकाको यो सीमा दुवै देशका पञ्जाब राज्यहरूमा फैलिएको छ । यहाँ दैनिक झण्डा अवतरण समारोहमा हजारौँ दर्शक दुवैतर्फबाट सहभागी हुन्छन् ।

भारतले इस्लामाबादमाथि अप्रिल २२ मा भारत–प्रशासित कश्मीरमा भएका पर्यटकमाथिका आक्रमणहरूमा समर्थन गरेको आरोप लगाएको थियो । उक्त आरोपलाई पाकिस्तानले अस्वीकार गरेको थियो । यही आरोप–प्रत्यारोपकै बीच मे महिनामा द्वन्द्व सुरु भएको र त्यसपछि सम्बन्ध झन् चिसिएको थियो ।

यद्यपि, हाल पाकिस्तानले जारी गरेको यो भिसा निर्णयले धार्मिक तथा सांस्कृतिक सम्पर्क पुनःस्थापनाको दिशामा सकारात्मक सङ्केत दिएको भारतीय विश्लेषकहरूले टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट