काठमाडौं । प्रथम ब्लाइण्ड महिला टी२० विश्वकप क्रिकेट (फस्ट वुमन्स टी२० वर्ल्ड कप क्रिकेट फर दी ब्लाइण्ड) को उपाधिका लागि नेपाली ब्लाइण्ड महिला क्रिकेट टोलीले आज भारत ब्लाइण्ड महिला क्रिकेट टोलीसँग खेल्दैछ। फाइनल खेल श्रीलंकाको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा हुँदैछ।
नेपालले दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। पहिलो सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई ९ विकेटले पराजित गरी फाइनल प्रवेश गरेको थियो। यसरी नेपाल र भारत पहिलो पटक भइरहेको ब्लाइण्ड महिला टी२० विश्वकपको फाइनलमा पुगेका छन्।
नेपाल नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले भने, “पहिलो पटक फाइनल पुग्नु हाम्रो खेलकुदका लागि ठूलो सफलता हो। फरक क्षमता भएका खेलाडीहरुले पनि राष्ट्रिय झण्डा बोकेर उत्कृष्ट प्रदर्शन गरेका छन् र दृष्टिविहीनहरुलाई प्रेरणा दिएका छन्।”
नेपाली ब्लाइण्ड महिला क्रिकेट टोलीकी कप्तान गीता पौडेलले फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरी उपाधि जित्ने लक्ष्य रहेको जानकारी दिइन्।
विश्वकपमा नेपाल, भारत, पाकिस्तान, अष्ट्रेलिया, श्रीलंका र अमेरिकाका टोलीहरुले प्रतिस्पर्धा गरेका छन्। लिग चरणमा भारत अपराजित रहेको छ भने नेपालले ४ खेल जितेको थियो। नेपालले लिग चरणमा भारतसँग मात्र हार बेहोरेको थियो र सेमिफाइनलमा पाकिस्तानमाथि विजय हात पारेको थियो।
क्रिकेट एसोसिएसन फर ब्लाइण्ड इन दी इन्डियाको आयोजना भएको विश्वकपको उद्घाटन खेल भारतको नयाँ दिल्ली र बैंगलुरुमा भएको थियो भने सेमिफाइनल र फाइनल खेल श्रीलंकामा आयोजना गरिएको हो।
प्रतिक्रिया दिनुहोस