काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधनसम्बन्धी निर्णयविरुद्ध दायर रिट निवेदनमा आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतका न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापा सम्मिलित पूर्ण इजलासमा मुद्दा पेशी तोकिएको हो ।
सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर जोडिएको मुद्दामा अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध उक्त रिट दायर गरिएको हो ।
यसअघि न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासले २०८२ चैत १५ गते ‘थप प्रमाण’ सम्बन्धी कानुनी व्याख्यामा विवाद देखिएको भन्दै मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।
संयुक्त इजलासले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ अनुसार ‘थप प्रमाण’ को आधारमा मात्र अभियोग संशोधन गर्न सकिने व्यवस्था रहेको उल्लेख गर्दै यस मुद्दामा उक्त प्रावधानको प्रयोगबारे स्पष्ट व्याख्या आवश्यक रहेको औँल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस