कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य केपी खनालले ऐलानी जग्गामा घर निर्माण गरेको विषय सार्वजनिक भएपछि विवाद चर्किएको छ । कैलाली–२ बाट निर्वाचित खनालको लम्कीचुहा नगरपालिका–१ स्थित बसपार्क नजिक निर्माणाधीन घरबारे सामाजिक सञ्जालमा प्रश्न उठ्न थालेका हुन् ।
सरकारले काठमाडौंसहित देशका विभिन्न स्थानमा सार्वजनिक तथा अतिक्रमित जग्गामा बनेका संरचना हटाउने अभियान चलाइरहेका बेला, खनालको घर पनि ऐलानी जग्गामा रहेको भन्दै डोजर प्रयोग गरेर भत्काउनुपर्ने माग उठेको छ ।
यता खनालको सचिवालयले भने यसलाई राजनीतिक प्रतिशोधको परिणाम भएको दाबी गरेको छ। सचिवालय सदस्य हर्क पुनका अनुसार सामाजिक सञ्जालमार्फत बदनाम गर्ने उद्देश्यले विषय उठाइएको हो । उनले देशभर सार्वजनिक जग्गा खाली गराउने अभियान चलिरहेको सन्दर्भमा खनालको घर पनि सोही बहसमा तानिएको बताए ।
पुनका अनुसार खनालका आमाबुवाले विदेशमा श्रम गरेर निर्माण गरेको उक्त घरमा बस्न नपाउने भन्ने तर्क उचित नभएको उनको भनाइ छ । यद्यपि खनालको परिवार बसोबास गर्दै आएको घर ऐलानी जग्गामै बनेको तथ्य भने उनले स्वीकारेका छन् । भुईँतलासहित तीन तलाको उक्त घर हाल निर्माणकै चरणमा रहेको छ ।
लम्कीचुहा क्षेत्रमा धेरैजसो स्थानीय ऐलानी जग्गामै बसोबास गर्दै आएको उल्लेख गर्दै पुनले खनालको परिवारले पनि लालपुर्जाका लागि आवेदन दिएको बताए । भूमि आयोगमार्फत नामसारी प्रक्रिया अघि बढाए पनि हालसम्म लालपुर्जा प्राप्त नभएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस