काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले प्रतिनिधिसभामा भएको पछिल्लो निर्णयले संसदको लोकतान्त्रिक चरित्र, प्रतिपक्षको भूमिका, संसदीय अभ्यास, अभिव्यक्ति स्वतन्त्रता तथा सभामुखको निष्पक्ष भूमिकामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।
उनले नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले हिजोको प्रतिनिधिसभा बैठकमा व्यक्त गरेका भनाइ संसदको रेकर्डबाट हटाउने गरी सभामुखले आज गरेको रुलिङ “चयनमुखी” देखिएको टिप्पणी गरे।
बर्तौलाले संसदीय व्यवस्थामा प्रतिपक्षको मुख्य दायित्व सरकारलाई खबरदारी गर्ने, प्रश्न गर्ने, आलोचना गर्ने र जनताको आवाज उठाउने भएको उल्लेख गर्दै प्रतिपक्षले सत्तापक्षलाई मनपर्ने कुरा मात्रै नभई सरकारका कमजोरीमाथि कठोर प्रश्नसमेत उठाइरहने बताए।
उनले राजनीतिक दबाब वा सत्ताको चाहनाअनुसार प्रतिपक्षका सांसदका अभिव्यक्तिहरू संसदको रेकर्डबाट हटाइने अवस्था बने संसद खुला बहसको थलोभन्दा नियन्त्रणमुखी संरचनातर्फ धकेलिने खतरा रहने उल्लेख गरे।
सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउँदा नियमावलीको कुन व्यवस्था अन्तर्गत कुन शब्द, वाक्य वा अभिव्यक्ति असंसदीय ठहरिएको हो भन्ने कुरा सभामुखले स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने बर्तौलाको भनाइ छ। तर आजको रुलिङमा त्यो स्पष्टता पर्याप्त रूपमा नदेखिएको उनले बताएका छन्।
सभामुखबाट सदनले सधैं तटस्थता, निष्पक्षता र समान व्यवहारको अपेक्षा गर्ने भए पनि संसदको गरिमा र मर्यादामाथि प्रत्यक्ष असर पर्ने सरकार तथा प्रधानमन्त्रीको व्यवहारप्रति कठोरता नदेखाउने तर प्रतिपक्षका सांसदका अभिव्यक्तिमाथि तत्काल रुलिङ गर्ने प्रवृत्तिले सभामुखको साझा भूमिकामाथिको विश्वास कमजोर बनेको बर्तौलाको आरोप छ।
उनले संसद संवाद, असहमति र आलोचनाको साझा मञ्च भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रणको माध्यम बनाइए संसदीय मामिलामा द्वन्द्व र अविश्वास अझ गहिरिने जोखिम रहने बताए। लोकतन्त्रको स्वास्थ्यका लागि संसदभित्र सरकारको कामकारबाहीप्रति खबरदारीपूर्ण आवाजलाई स्थान दिनु, नियमावलीको प्रयोग निष्पक्ष ढंगले गर्नु तथा सभामुखको भूमिकाप्रतिको विश्वसनीयता कायम राख्नु आवश्यक रहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस