२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

सोमवार , जेठ ४, २०८३

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय नहुँदा सुक्खापन बढेको थियो । हिउँदमा जहिले पनि इनार, कुँवालगायत पानीका मुहान सुक्ने गर्दछन् ।

यस क्षेत्रमा सुक्खायाममा खानेपानीको समस्या हुने गरेको स्थानीय ७८ वर्षीय कालीचरण चौधरीले बताए । उनका अनुसार गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार क्षेत्र संरक्षणका लागि प्रदेश र स्थानीय सरकारको रु एक करोडको लागत र स्थानीयको पहलमा विसं २०७७ मा जलाशय बनेको हो । दुई बिघामा क्षेत्रफलमा फैलिएको यो जलाशयको गहिराइ छ मिटर छ ।

यो जलाशयमार्फत सिँचाइ सुविधा पुग्न थालेपछि ‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’ ले गति लिएको स्थानीय बताउँछन् । यो जलाशय निर्माण भएपछि १०० बिघा जमिनमा सिँचाइ पुगेको चौधरीले जानकारी दिए ।

उनले भने, “पहिले मानिस र गाईवस्तुलाई पेटभरि पानी खुवाउन नसक्ने गाउँले अहिले सहरका मानिसलाई पेटभरि तरकारी खुवाउन सक्ने भएका छौँ । १५० घरका सबैले खेती गरेका छौँ ।”

आफ्नो जमिनले नपुगेकाले छेउछाउको जमिन भाडामा ल्याएर बाह्रै महिना तरकारीखेती गरेर आम्दानी गर्ने गरेको उनले बताए । घोराही–१७ कर्जाहीका पूर्ण चौधरी ५२ वर्षको भए ।

उनले स्नातकसम्म अध्ययन गरे पनि अहिले व्यावसायिक कृषि पेसा गर्दै आएका छन् । आफ्नो एक बिघा र भाडामा लिएको छ कठ्ठा जमिन व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएका छन् । चौधरीले व्यावसायिक तरकारीखेती गर्न थालेको पाँच वर्ष भएको जानकारी दिए । पछिल्लो समय एकयाममा तरकारी बिक्री गरेर रु ९० हजारदेखि रु एक लाखसम्म आम्दानी भइरहेको उनले बताए ।

“पाँच वर्ष अघिसम्म गाउँमा व्यावसायिक खेती हुँदैनथ्यो । कर्जाहीको जलासय विस्तार भएपछि मात्रै पानीको पहुँच पुग्यो र खेती सुरु भयो”, उनले भने ।

सोही ठाउँकी ७२ वर्षीया सुशीला चौधरी धनिया उखेल्दै गरेको अवस्थामा भटिइन् । उनका खेतमा धनिया, लौका, करेला, काक्रा र भिन्डी फलेका छन् । बिहान र बेलुकाको समय उनी तरकारी बारीमा भेटिन्छिन् । करिब १८ कठ्ठा जमिनमा खेती गरेको तरकारीले वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी हुने गरेको उनले जानकारी दिइन् । पानीको सुविधा भएपछि गाउँँका सबैले व्यावसायिक खेती गर्न थालेका बताउँदै सुशीलाले यसबाट स्वरोजगार बन्नुका साथै बाँझो जमिन हराभरा हुन थालेका उल्लेख गरिन् ।

“तरकारीखेती गरेपछि घरमा खान भएको छ, बिक्री गरेर आम्दानी भएको छ । पानीले नयाँ जीवन दिए जस्तो भएको छ”, उनले भनिन् । ताल संरक्षणसँगै अप्रत्यक्ष रूपमा वातावरण संरक्षण र प्रत्यक्ष रूपमा आम्दानीमार्फत जीविकोपार्जनलाई जोड्ने कामले खेतीपातीमा सहजता थपिएको सुशीलाले बताइन् ।

स्थानीयलाई माछापालन, प्राकृतिक कृषिसम्बन्धी तालिम, ज्ञान, सीप दिने र बजारसम्म जोड्ने कामको अभियान घोराही उपमहानगरपालिकाले गरिरहेको छ । कर्जाही गाउँबाट दैनिक रु ५० हजार बराबरको तरकारी बिक्री हुने गरेको कर्जाही ड्याम लिफ्ट सिँचाइ आयोजनाका अध्यक्ष प्रशु चौधरीले जानकारी दिए ।

उनका अनुसार गाउँका २५० परिवारको १०० बिघा जमिनमा सिँचाइ पुगेको छ । अध्यक्ष चौधरीले भने, “अहिले गाउँका मानिस घरमा होइन सबै खेतबारीमा मात्रै भेटिन्छन् । तरकारीखेती गर्न, टिप्न र बजारमा बिक्री गर्न भ्याइनभ्याइ हुन्छ ।

पानीले सबैको जीवन परिवर्तन गरिदिएको छ ।” खेती नगर्ने कुनै घर छैन धेरै थोरै होला बाह्रै महिना किसान खेतवारीमा व्यस्त रहने गरेको उनको भनाइ छ । आम्दानी वृद्धिसँगै पोषणमा सुधार भएको चौधरीले बताए । – रासस

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ