काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रबार भएको प्रतिष्पर्धात्मक खेलमा नेपाल भारतसंग ३–२ को सेटमा पराजित भएको हो । खेलको पहिलो सेट नेपालले २५–२१ ले आफ्नो पक्षमा पारेको थियो, तर त्यसपछिका दुई सेट भने भारतले २५–२०, २५–१९ ले आफ्नो पक्षमा पार्यो, चौथो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको नेपाल अन्तिम सेटमा भने ९–१५ ले स्तव्ध भयो । जितसंगै भारतले महत्वपूर्ण ३ अंक जोडेको छ भने नेपाल अर्को खेल जित्नै पर्ने दवावमा छ ।
त्यसअघि शुक्रबार नै भएको पहिलो खेलमा समूह ‘बी’ को पहिलो खेलमा इरानले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो । इरानले २५–६, २५–९ र २५–१० ले खेल आफ्नो पक्षमा पारेको हो ।
जितसँगै इरानले ३ अंक जोडेको छ । प्रतियोगितामा उज्बेकिस्तान, किर्गिस्तान, ताजकिस्तान, कजाखस्तान, भारत, माल्दिभ्स, श्रीलंका र नेपालले सहभागिता जनाएका छन् ।
दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल जेठ १५ गते हुने नेपाल भलिबल संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस