काठमाडौ/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएका घटनाको छानबिन सम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनप्रति प्रश्न उठाउँदै त्यसलाई ‘नवौं आश्चर्य’ को संज्ञा दिएका छन् ।
ओलीले अदालतले रोक्न आदेश दिएको विषय कार्यान्वयन गर्दा समेत तत्कालीन सञ्चारमन्त्रीमाथि कारबाही र मानव अधिकार हनन भएको भन्दै प्रतिवेदन तयार पारिएको आफूले सुनेको बताए ।
‘अदालतले रोक भनेको कुरा कार्यान्वयन गर्दा मानव अधिकार हनन भयो भनेर प्रतिवेदन आउँछ भने यो आठौं होइन, नवौं आश्चर्य हो,’ ओलीले भने ।
उनले मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन लामो समयसम्म सार्वजनिक नगरिएको भन्दै पनि आपत्ति जनाए । प्रतिवेदन सार्वजनिक गर्न समितिका अध्यक्षले नै दबाब दिनुपर्ने अवस्था आएको उनको भनाइ थियो ।
‘प्रतिवेदन पेश गर्ने समितिका अध्यक्षले अब म आफैं सार्वजनिक गर्नुपर्छ भनेपछि मात्रै सार बाहिर आएको छ,’ ओलीले बताए ।
ओलीले छानबिनका नाममा तयार पारिएका प्रतिवेदनहरूको निष्कर्ष एउटै रहेको दाबी गर्दै ती प्रतिवेदनको उद्देश्य एमालेलाई दोषी देखाउने रहेको आरोप लगाए । ‘सबै प्रतिवेदनको सार एउटै थियो– एमालेलाई फसाउनु पर्ने,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस