दाङ / नेपाली कांग्रेस र एमाले बीच भागबण्डामा गठन गरिएको प्रदेश सरकारहरुमा मन्त्रीहरु फेरबदलको तयारी भएको छ । कांग्रेस र एमाले बीच यस अघि नै दुइ दुइ कार्यकाल सरकारको नेतृत्व गर्ने सहमती भएको थियो । दुइ दल बीच भागबण्डामा सरकार गठन भएको दुइ वर्ष पुरा हुदैछ । प्रदेश सरकार फेरबदलका लागि एमाले र कांग्रेस बीच पटक पटक छलफल भएपनि ठोस निर्णयमा भने पुग्न सकिरहेको छैन ।
दुइ दल बीच सहमती नभएपनि लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरु भने फेरबदल गर्ने तयारी गरिएको छ । लुम्बिनी प्रदेशमा २०८२ साउन १२ गते मन्त्रीपरिषद पुर्नगठन गरिएको थियो । यो प्रदेशमा एमालेका चेतनारयण आचार्य मुख्यमन्त्री रहेका छन् । एमालेबाट मन्त्रीपरिषदमा सहभागी भएका चार जना मन्त्रीहरुले राजीनामा दिएका छन् । एमाले स्रोतका अनुसार एमालेकै नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि यस अघिका मन्त्रीहरुले राजीनामा दिएका हुन् ।
एमालेबाट भौतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकाल, कृषि, भूमी व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी, स्वास्थ्यमन्त्री खेम सारु मगर र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीले सामुहिक राजीनामा दिएका छन् । एमालेका मन्त्रीहरुले बुधबार मुख्य मन्त्री आचार्यलाई राजीनामा बुझाएका थिए ।
अब बन्ने नयाँ मन्त्रीमण्डलमा एमालेबाट रामजी घिमिरे,तुलसीप्रसाद चौधरी,रत्न खत्री,डिल्लीराज भुसालको नाम चर्चामा रहेको छ । यदपी लुम्बिनी प्रदेशका एक एमाले नेताका अनुसार को मन्त्री बनाउने भन्ने अहिले नै निर्णय भइनसकेको र पार्टी अध्यक्षसँगको परामर्श पछि मात्रै मन्त्रीमण्डल गठन गरिने छ ।
प्रतिक्रिया दिनुहोस