काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचीत सासंद अमरेशकुमार सिंहले वर्तमान सरकारले पेश गरेको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सिंहले बजेटमा केही सकारात्मक पक्ष भए पनि आगामी आर्थिक वर्षको बजेटले गरिब, किसान, युवा तथा उत्पादनमुखी अर्थतन्त्रका मूल समस्यालाई सम्बोधन गर्न नसकेको बताएका छन् ।
सिंहले बजेटको आकार र स्रोत व्यवस्थापनमाथि पनि प्रश्न उठाए, दक्षिण एसियाका अन्य मुलुकको तुलनामा नेपालको बजेट आकार जीडीपीको अत्यधिक ठूलो हिस्सा रहेको दाबी गर्दै उनले यसलाई ‘फुकिएको बेलुन ’को संज्ञा दिए। बजेट कार्यान्वयन क्षमतामाथि पनि शंका व्यक्त गर्दै उनले ठूलो परिमाणको आन्तरिक ऋण पुरानो ऋणको सावाँ–ब्याज तिर्नमै खर्च हुने अवस्था सिर्जना भएको सिंहको भनाई थियो ।
सासंद सिंहले बजेटबाट देशको कति प्रतिशत जनशक्ति लाभान्वित भयो भन्ने प्रश्न उठाउँदै उनले बैंकिङ क्षेत्र खुसी देखिए पनि व्यवसायिक वातावरण कमजोर भएकाले लगानी र ऋण प्रवाह घटिरहेको बताए सिंहले ‘डरले शासन चल्न सक्छ, तर डरले विकास हुँदैन ’ उनले भने ।
सिंहले शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाउने व्यवस्था संविधानको मर्मविपरीत भएको दाबी गरे।
संविधानले शिक्षालाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उनले निजी विद्यालय र अस्पतालमार्फत सेवा लिने नागरिकमाथि अप्रत्यक्ष रूपमा करको भार थोपारिएको बताए। सार्वजनिक शिक्षा प्रणाली सुदृढ गर्ने ठोस योजना बजेटमा नदेखिएको उनको भनाइ थियो ।
सासंद सिहंले उत्पादन र बजारबीचको असन्तुलन अन्त्य गर्न सरकार असफल भएको बताए । ‘किसानले खेतमा पाँच रुपैयाँमा तरकारी बेच्नुपर्छ, तर उपभोक्ताले त्यही तरकारी ५० रुपैयाँमा किन्नुपर्छ, सिंहले भने–‘किसानले उचित मूल्य पाउने व्यवस्था बजेटमा देखिएन ।’ उनले वर्तमान विश्वका प्रमुख चुनौतीमध्ये बेरोजगारीलाई पहिलो स्थानमा राख्दै कृत्रिम बुद्धिमत्ता (एआई) र प्रविधिको तीव्र विकासले रोजगारीमा नयाँ चुनौती थपेको बताए । सासंद सिंहले पुरानो ऋण तिर्न नयाँ ऋण लिने प्रवृत्तिले अर्थतन्त्रलाई दीर्घकालीन रूपमा कमजोर बनाउने बताए ।
प्रतिक्रिया दिनुहोस