काठमाडौं । बहुप्रतिक्षीत विश्वकप फुटबल २०२६ का खेलहरू सार्वजनिक स्थानमा सामूहिक रूपमा प्रत्यक्ष प्रसारण (गर्न चाहने संघ–संस्था तथा कम्पनीले जिल्ला प्रशासन कार्यालय काठमाडौंको पूर्वस्वीकृति लिनुपर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै विश्वकप फुटबलका खेलहरू देखाउने नाममा रातको समयमा ठूलो भीड जम्मा गर्ने, समुदायमा असर पर्ने तथा शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न आग्रह गरेको हो ।
कार्यालयका अनुसार काठमाडौं जिल्लाभित्र कुनै पनि संघ, संस्था वा कम्पनीले खेलको प्रत्यक्ष प्रसारण गर्न चाहेमा तोकिएको ढाँचामा निवेदन दिएर अनुमति लिनुपर्नेछ ।
निवेदनका आधारमा कार्यक्रम हुने स्थान, सुरक्षा संवेदनशीलता लगायतका विषय विश्लेषण गरी अनुमति प्रदान गरिने जनाइएको छ ।
प्रशासनले अनुमति नलिई सार्वजनिक रूपमा विश्वकप फुटबल २०२६ का खेलहरू देखाउने, भिडभाड गर्ने, अमर्यादित वा गैरकानुनी गतिविधि गर्ने गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालद्वारा जारी सूचनामा विश्वकप फुटबलका खेलहरू व्यवस्थित र सुरक्षित रूपमा सञ्चालन गर्न यस्तो व्यवस्था गरिएको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस