काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै सरकारले सुशासनको नाराबाट विचलित नहुने बताएका छन् । संसदमा सम्बोधन गर्दै उनले सांसदहरूलाई आफ्नो मर्यादा र ओज कायम राख्न आग्रह गर्दै सरकारमाथि लगाइएका आरोपहरूको प्रतिवाद गरेका हुन् ।
‘सांसदहरूले आफ्नो कद आफैं राख्नुस्, ओज नघटाउनुस्, सुशासनको नारामा उभिएको यो सरकारले दुई महिनामै त्यसको घात गर्दैन, ’ उनले भने । उनले केही सांसदहरूलाई लक्षित गर्दै ‘तपाईंहरूको काण्डबारे हामी अनभिज्ञ छौं र ? आवश्यक परे ती विषय पनि खोल्छौं,’ भन्दै चेतावनीसमेत दिए ।
अर्थमन्त्री वाग्लेले बजेट निर्माणका क्रममा देखिएका केही त्रुटिहरू स्वीकार गर्दै ती कमजोरीहरू दबाब र सीमित समयका कारण भएको बताए । उनका अनुसार मन्त्रिपरिषद्बाट पारित भएको विषयमा समस्या नभए पनि संसदमा पेश गर्ने क्रममा केही गल्ती भएको थियो । ‘रातारात प्रेसरमा काम गर्दा केही समस्या भयो, भन्सार दरमा केही फेरबदल भयो, मिस्टेक भयो,’ उनले भने ।
उनले विशेषगरी खोप तथा रगत बोक्न प्रयोग हुने क्यारियर झोलाको भन्सार वर्गीकरणमा भएको त्रुटिबारे स्पष्ट पार्दै ती सामग्री सुटकेसको वर्गमा परेको पाइएकाले छुट्टै उपशीर्षक बनाएर कम भन्सार दर कायम गरिएको जानकारी दिए ।
यस्तै, विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी कर व्यवस्थाबारे उठेका प्रश्नको जवाफ दिँदै उनले ५० लाख रुपैयाँभन्दा कम मूल्यका ईभीमा कर नबढाइएको र सोभन्दा माथिका सवारीमा मात्रै कर समायोजन गरिएको बताए ।
बजेटमाथिको छलफलमा उठेका आशंका र आलोचनाको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले सरकारले पारदर्शिता, सुशासन र कर प्रणालीको न्यायोचित व्यवस्थापनमा कुनै सम्झौता नगर्ने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस