चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको छ। मतदान प्रक्रिया आज बिहान साढे १२ बजेदेखि सुरु भएको हो।
निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान सुरु भएको दुई घण्टाभित्र ५ सय मत खसेको छ। यही गतिमा मतदान जारी रहे बिहान १० बजेसम्म मतदान सम्पन्न हुने अपेक्षा गरिएको उनले बताए।
महाधिवेशनअन्तर्गत पहिलो चरणमा ९९ केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको छ । केन्द्रीय सदस्यको मतगणना र परिणाम सार्वजनिक भएपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरु गरिने रास्वपाले जनाएको छ।
केन्द्रीय सदस्यका लागि कुल ३७९ जनाले उम्मेदवारी दिएका छन्। प्रदेशगत रूपमा कोशीबाट २०, मधेशबाट २०, बागमतीबाट २७, गण्डकीबाट २७, लुम्बिनीबाट ३२, कर्णालीबाट ३१ तथा सुदूरपश्चिमबाट १८ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी खुलातर्फ २०४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
खुला समूहमा पार्टीका सांसद तथा मन्त्रीहरूको उल्लेख्य उपस्थिति रहेको छ। उनीहरूमध्ये अधिकांशले खुला कोटाबाट उम्मेदवारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस