२०८३, आषाढ १५ गते

सोमवार, आषाढ १५ गते २०८३

पूर्वाधार र पर्यटकको पर्खाइमा म्याग्दीको 'भंकासे' : ओझेलमा पर्यो २६०० मिटर उचाइको प्राकृतिक टापु

सोमवार , आषाढ १५, २०८३

म्याग्दी। पहाडको उच्च स्थानमा रहेको समथर टापु, चारैतिर भिरालो पाखा र घना जङ्गल, बस्तीभन्दा टाढाको एकान्त र शान्त वातावरण अनि पृष्ठभूमिमा मुस्कुराइरहेका हिमशृङ्खलाहरू ।

म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको प्राकृतिक रूपमा सुन्दर र मनमोहक भंकासे क्षेत्र अहिले पूर्वाधार, प्रचारप्रसार र पर्यटकको पर्खाइमा छ ।

परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको यो धार्मिक र पर्यटकीय स्थल समुद्री सतहदेखि करिब दुई हजार ६०० मिटरको उचाइमा अवस्थित छ। पात्लेखेतको वाखेत टोलको शिरमा रहेको यस ऐतिहासिक ठाउँको उचित प्रचारप्रसार आवश्यक रहेको स्थानीय बासिन्दा लोकबहादुर पुन बताउँछन् । पहाडको शिरमा रहेको उक्त स्थानमा जमिन भासिएर प्वाल परेको हुनाले पहिले ‘भ्वाङ खसेको’ भन्दा भन्दै पछि अपभ्रंश भएर यसको नाम भंकासे रहन गएको जनविश्वास छ ।

भंकासेमा पहाड भासिएर ओडार जस्तो बनेको एउटा ठूलो भ्वाङ रहेको छ, जसको नजिकै करिब १० रोपनी समथर खाली जमिन फैलिएको छ । यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे लगायतका सुन्दर हिमशृङ्खलाहरू स्पष्ट रूपमा देखिन्छन् । स्थानीय बासिन्दाहरूका अनुसार म्याग्दीका साविकका ४१ वटा गाविसमध्ये ३५ वटा गाविसको भूगोल यहाँबाट सहजै अवलोकन गर्न सकिन्छ ।

भंकासेभन्दा करिब २०० मिटर तल ऐतिहासिक सिद्धको थान रहेको छ। उक्त थानमा तपस्या गरेका प्राचीन ऋषिहरूले देहत्याग गरेको विश्वास गरिने ठाउँमा अहिले मन्दिर र धर्मशाला समेत बनाइएको छ । हालको समयमा पनि यहाँ देशका विभिन्न स्थानहरूबाट ऋषिमुनिहरू ध्यान तथा तपस्याका लागि आउने गरेका छन् । सिन्धुपाल्चोकबाट आएर विगत १२ वर्षदेखि भंकासेमा तपस्या गरिरहेका तपस्वी रुपचन्द्रले आफूले सपनामा देखेको आधारमा विश्वशान्ति र विकृतिमुक्त समाजको कामनाका लागि यहाँ तपस्या गर्न आएको बताएका छन् ।

भंकासे र सिद्धथान क्षेत्रमा तपस्वीहरूका लागि आश्रमहरू समेत बनाइएका छन् । वाखेत बस्तीबाट करिब ३० मिनेटको पैदलयात्रापछि पुगिने सिद्धथानबाट थप १५ मिनेट उकालो हिँडेपछि भंकासे पुग्न सकिन्छ। यस्तै, रघुगङ्गा र मङ्गाल गाउँपालिका तथा बेनी नगरपालिकाको सिमानामा पर्ने अर्को प्रख्यात पर्यटकीयस्थल टोड्केबाट ४० मिनेटको पैदलयात्रा पछि भंकासे पुगिने व्यवस्था छ ।

बेनी नगरपालिकाले सिद्धथान र भंकासे क्षेत्रलाई ‘आरोग्य पर्यटन’ को अवधारणाअनुसार धार्मिक र पर्यटकीयस्थलको रूपमा विकास गराउन ‘एक वडा, एक पर्यटन परियोजना’ मा समेटेको वडाध्यक्ष मसविर रोकाले जानकारी दिएका छन् । वाखेतदेखि सिद्धथान हुँदै भंकासे जोड्ने पदमार्ग र सिद्धथान जोड्ने सडक निर्माण भइसकेको जानकारी दिँदै उनले यस क्षेत्रको ऐतिहासिक तथ्यहरू जुटाउनका लागि धर्मगुरुहरूमार्फत खोज अनुसन्धान समेत थालिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट