काठमाडौं । नेपाली भान्छामा लोकप्रिय ‘तेज’ ब्रान्डको शुद्ध तोरीको तेल उत्पादन गर्दै आएको सिद्धार्थ आयल इन्ड्रस्ट्रिज को ब्यापार राम्राे देखिएकाे छ ।
बजारमा ठूला तेल रिफाइनरी तथा नयाँ उद्योगको प्रवेश सहज भएकाले प्रतिस्पर्धा तीव्र छ । यस्ताे अवस्थामा पनि चालु आर्थिक वर्षको पहिलो नौ महिनामै उद्योगले १.०१३ अर्ब रुपैयाँ बराबरको कारोबार गरिसकेको छ।
आर्थिक वर्ष २०२४/२५ मा अन्तर्राष्ट्रिय बजारमा खानेतेलको मूल्यमा आएको उतारचढावका कारण उद्योगको सञ्चालन नाफा घटेर १.४ प्रतिशत मा सीमित भएको थियो। तर, चालु आर्थिक वर्ष २०२५/२६ को पहिलो नौ महिनामा कच्चा पदार्थको मूल्य अपेक्षाकृत स्थिर रहनु, बिक्री मूल्यमा सुधार आउनु तथा सञ्चालन व्यवस्थापन प्रभावकारी बन्दा सञ्चालन नाफा बढेर ६.८ प्रतिशत पुगेको छ।
नाफा सुधारसँगै बजारमा ब्याजदर घटेका कारण उद्योगको ब्याज तिर्ने क्षमता पनि उल्लेखनीय रूपमा बलियो बनेको छ। अघिल्लो वर्ष ०.६ गुणा रहेको यो सूचक चालु वर्षको नौ महिनामा ५.० गुणा पुगेको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाल ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले देखाएकाे छ।
हाल उद्योगको प्रमुख बजार नेपालको पश्चिमी क्षेत्रमा केन्द्रित छ। सन् १९९९ मा स्थापना भएको सिद्धार्थ आयल इन्ड्रस्ट्रिज नेपालको प्रतिष्ठित सिद्धार्थ ग्रुप अन्तर्गत सञ्चालित उद्योग हो। कम्पनीमा जगदीश कुमार अग्रवाल (३० प्रतिशत), राजेश कुमार अग्रवाल (४० प्रतिशत) र श्याम सुन्दर अग्रवाल (३० प्रतिशत) को लगानी रहेको छ। याे समूहको उत्पादन, जलविद्युत, वित्तीय सेवा तथा रियल इस्टेट क्षेत्रमा लामो अनुभव छ।
उद्योगको मुख्य उत्पादन तोरीको तेल दैनिक उपभोग्य वस्तु भएकाले यसको बजार माग स्थिर छ। साथै, तेल उत्पादनपछि निस्कने डी–ओइल्ड केक (पिना) नेपाल तथा भारतका दाना उद्योग र कृषि क्षेत्रमा बिक्री हुने भएकाले अतिरिक्त आम्दानीको स्रोत बनेको छ।
नेपाल–भारत सीमा नजिक रहेको उद्योगको उत्पादन केन्द्रले ढुवानी लागत व्यवस्थापनमा पनि प्रतिस्पर्धात्मक लाभ दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
व्यापारिक नाफामा सुधार भए पनि उद्योगले कार्यशील पूँजी व्यवस्थापनमा चुनौती झेलिरहेको इक्रा नेपालको निष्कर्ष छ।
बजारबाट उधारो रकम असुल हुन ढिलाइ हुनु तथा गोदाममा मौज्दात लामो समयसम्म रहँदा कार्यशील पूँजीको आवश्यकता उल्लेखनीय रूपमा बढेको छ। नेट वर्किङ क्यापिटल–टु–अपरेटिङ इनकम अनुपात अघिल्लो वर्षको १९ प्रतिशत बाट बढेर ५५ प्रतिशत पुगेको छ।
यसकै प्रभावस्वरूप उद्योगको बैंक ऋणमा निर्भरता बढेको छ। प्रतिवेदनअनुसार मध्य अप्रिल २०२६ सम्म उद्योगले बैंकबाट स्वीकृत ड्रइङ पावरको १०२ प्रतिशत सम्म ऋण उपयोग गरेको देखिएको छ, जसले तरलता व्यवस्थापनमा दबाब रहेको संकेत गर्छ।
आयात र नीतिगत जोखिम कायम
उद्योगले उत्पादनका लागि आवश्यक तोरीको गेडा पूर्ण रूपमा अष्ट्रेलिया, क्यानडा र युक्रेन लगायतका देशबाट आयात गर्नुपर्ने भएकाले विदेशी विनिमय दर (फरेक्स) तथा अन्तर्राष्ट्रिय ढुवानीसँग सम्बन्धित जोखिम कायम रहेको प्रतिवेदनले औँल्याएको छ।
यस्तै, सरकारले कच्चा तोरी वा तयारी खानेतेलमा लागू गर्ने भन्सार दरमा हुने परिवर्तन तथा भारतको व्यापार नीतिले पनि उद्योगको लागत र नाफामा प्रत्यक्ष प्रभाव पार्ने विश्लेषण गरिएको छ।
इक्रा नेपालका अनुसार आगामी दिनमा उद्योगले बजार विस्तार, उधारो असुलीमा सुधार तथा बैंक ऋणमा निर्भरता घटाउन सके व्यापारको दिगोपना अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
उद्योगको कुल १.११४ अर्ब रुपैयाँ बराबरको बैंकिङ सुविधा (ऋण सीमा) को रेटिङ यथावत राखिएको छ। दीर्घकालीन ऋणतर्फ [ICRANP] LBB- र अल्पकालीन ऋणतर्फ [ICRANP] A4 रेटिङ पुनः पुष्टि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस