२०८३, आषाढ २७ गते

शनिवार, आषाढ २७ गते २०८३

सात वर्षपछि छिचोलिँदै नागढुंगाको जाम : साउनबाट सुरुङमा सवारी

शनिवार , आषाढ २७, २०८३

राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा । घण्टौँको जाम, उकालो–ओरालो, घुम्ती र सवारीको लामो लाइनका कारण वर्षौंदेखि यात्रु र चालकका लागि सास्तीको पर्याय बनेको यही नाकामुनि नेपालले सडक पूर्वाधारमा पहिलो पटक नयाँ अध्याय सुरु गरेको छ ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अब पूर्ण सञ्चालनको अन्तिम तयारीमा छ । कोभिड महामारी, स्थानीयको अवरोध, पानीका मुहान सुकाएको आरोप, क्षतिपूर्तिको विवाद र पटक–पटक सरेको सञ्चालन मितिका बीच अब भने सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा पुगेको हो ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार सुरुङमार्ग सञ्चालनका लागि आवश्यक सबै तयारी भइरहेका छन् ।

b.jpg

‘हामी सकेसम्म साउनभित्रै आयोजना सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौँ,’ आयोजना प्रमुख नेपालले भने ।
सुरुङमार्ग चौबीसै घण्टा सञ्चालनका लागि १५० जना कर्मचारी भर्ना गरिएको छ । ती कर्मचारीलाई सिफ्टका आधारमा परिचालन गरिने नेपालले जानकारी दिए ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास वि.सं. २०७६ साल कात्तिक ४ गते भएको थियो। काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोकमा आयोजित एक कार्यक्रमका बीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुरुङमार्गको शिलान्यास गरेका थिए । 

४२ महिनाको लक्ष्य, निर्माणमै वर्षौं

नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापानी कम्पनी हाजमा आन्दोसँग सन् २०१९ सेप्टेम्बरमा सम्झौता भएको थियो । नोभेम्बर २०१९ बाट निर्माण सुरु भएको आयोजनालाई ४२ महिनाभित्र अर्थात् २६ अप्रिल २०२३ सम्म सम्पन्न गर्ने लक्ष्य थियो ।

सडक विभागले सुरुमा ५ अर्ब ५० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । निर्धारित समयभित्र आयोजना पूरा भएन । कोभिड–१९ महामारीसँगै प्राविधिक समस्या र अन्य अवरोध देखाउँदै पहिलो पटक म्याद एक वर्ष थपेर अप्रिल २०२४ सम्म पु¥याइएको थियो । सन् २०२३ को फेब्रुअरीसम्म आयोजनाको भौतिक प्रगति करिब ४९ प्रतिशत मात्रै थियो ।

aa.jpg

यसबीच स्थानीय अवरोध पनि निर्माण ढिलाइको एउटा कारण बन्यो । धादिङतर्फका स्थानीयले क्षतिपूर्ति, खानेपानी र सिँचाइको माग गर्दै सन् २०२४ फेब्रुअरीमा काम रोकेका थिए । करिब एक महिनापछि मात्रै निर्माण पुनः सुरु भएको थियो ।

४२ महिनामा सक्ने लक्ष्यसहित सुरु भएको आयोजना निर्माण र सञ्चालन तयारीको लामो चक्र पार गर्दै झन्डै सात वर्षपछि पूर्ण व्यावसायिक सञ्चालनको नजिक पुगेको आयोजना प्रमुख नेपालले जानकारी दिए ।

२.६८८ किलोमिटर पहाडभित्रको सडक

आयोजनाको मुख्य सुरुङ २ हजार ६८८ मिटर लामो छ । दुई लेनको सुरुङमा प्रत्येक लेन ३.५ मिटर, बीचमा १.५ मिटर र दुवैतर्फ निकास संरचनासहित कुल क्यारिजवे ९.५ मिटर चौडा हुने गरी डिजाइन गरिएको हो । आयोजनामा पूर्वतर्फ २ हजार ३०७ मिटर र पश्चिमतर्फ ५६५ मिटर पहुँच सडकसमेत समेटिएको छ ।

c.jpg

मुख्य सुरुङसँगै २ हजार ५५७ मिटर लामो आपतकालीन उद्धार सुरुङ निर्माण गरिएको छ । दुर्घटना वा मुख्य सुरुङ अवरुद्ध हुँदा यात्रु उद्धार गर्न मुख्य र उद्धार सुरुङलाई क्रस–प्यासेजमार्फत जोडिएको छ ।

२८ अर्बको सुरुङ, जापानको सहुलियत ऋण

यो आयोजनामा करिब २० अर्ब ६० करोड रुपैयाँ प्रारम्भिक लागत अनुमान गरिएको थियो । आयोजनामा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकामार्फत करिब १५ अर्ब ८० करोड रुपैयाँ अत्यन्त सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था गरिएको थियो ।

ऋणको ब्याजदर ० दशमलब ०१ प्रतिशत उल्लेख छ । बाँकी करिब ४ अर्ब ८० करोड रुपैयाँ नेपाल सरकारले व्यहोर्ने सहमति भएको थियो । सडक विभागका अनुसार सुरुङ निर्माण सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुनेछ ।

सुरुङ छिर्न मोटरसाइकललाई रोक, अरूले तिर्नुपर्छ टोल

सुरुङमार्ग सबै सवारीका लागि खुला हुने छैन । सुरक्षाको कारण देखाउँदै मोटरसाइकललाई सुरुङ प्रवेशमा रोक लगाउने निर्णय गरिएको नागढुंगा सुरुङमार्ग सञ्चालन समितिका सुरक्षा प्रमुख कविराज श्रेष्ठले जानकारी दिए ।

f.jpg

‘सुरक्षाका कारण मोटरसाइकल र तीनपांग्रे सवारीसाधनलाई सुरुङमा पूर्ण रूपमा निषेध गरिएको छ,’ श्रेष्ठले भने ।

सरकारले सवारीको वर्ग र काठमाडौं प्रवेश वा बाहिरिने दिशाका आधारमा फरक टोल शुल्क तय गरेको छ । हलुका सवारीले काठमाडौं प्रवेश गर्दा ६५ र बाहिरिँदा ६० रुपैयाँ, मिनिबस तथा मिनी ट्रक / टिपरले प्रवेश गर्दा ११५ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ ।

बस तथा ट्रकका लागि प्रवेश शुल्क २६० र बाहिरिने शुल्क २०० रुपैयाँ तथा बहु–एक्सल ट्रक र हेभी इक्विपमेन्टका लागि प्रवेशमा ६०० र बाहिरिँदा २५० रुपैयाँ शुल्क तोकिएको श्रेष्ठले जानकारी दिए ।

टोल शुल्क नगदबाट मात्रै होइन, क्यूआर कोड र सवारीमा जडान गरिने स्टिकरलाई क्यामेराले स्क्यान गर्ने विद्युतीय प्रणालीबाट समेत तिर्न सकिने तयारी छ । संकलित रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुने र दैनिक व्यवस्थापन निजी कम्पनीले गर्ने योजना छ ।

भिडिओमा हेर्नुहोस् 

पाँच वर्ष सञ्चालन गर्न १ अर्ब १० करोडको ठेक्का

सुरुङ सञ्चालनका लागि चौबीसै घण्टा निगरानी, आगलागी नियन्त्रण, उद्धार, विद्युत्, भेन्टिलेसन र ट्राफिक व्यवस्थापन आवश्यक पर्छ । 
सुरुङभित्र विद्युत् आपूर्ति चौबीसै घण्टा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइएको छ । यदि विद्युत् आपूर्ति बन्द भयो भने तत्कालै ठूला क्षमताका जेनेरेटरमार्फत विद्युत् आपूर्ति सुचारु गरिनेछ ।

सुरुङ सञ्चालन तथा मर्मतका लागि युक्सिन–एआरटी जेभीलाई पाँच वर्षका लागि करिब १ अर्ब १० करोड रुपैयाँको ठेक्का दिइएको छ । 
सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि आयोजना र सेवा प्रदायक युक्सिन–एआरटी जेभीबीच यसअघि नै औपचारिक सम्झौता भइसकेको छ ।

सेवा प्रदायक कम्पनीले आगामी पाँच वर्षसम्म सुरुङमार्ग सञ्चालन तथा मर्मतको औपचारिक जिम्मा पाएको हो ।
सुरुङमार्गको सञ्चालन र मर्मतसम्भारको जिम्मा पाएको सेवा प्रदायकले सिभिल संरचना, मेकानिकल, इलेक्ट्रिकल र सुरुङभित्रका सुरक्षा प्रणालीको नियमित रेखदेख र मर्मत गर्नुपर्नेछ ।

सुरुङमार्ग सञ्चालन गर्नुअघि अहिले आपतकालीन उद्धार अभ्यास, दुर्घटना व्यवस्थापन र ट्राफिक परीक्षण भइरहेको छ ।
‘हामी अहिले दिनहुँ प्राविधिकहरूलाई तालिम दिइरहेका छौँ ।

सञ्चालन भएपछि समस्या नहोस् भनेर अहिले नै पूर्ण दक्ष बनाउँदैछौँ,’ सुरक्षा प्रमुख श्रेष्ठले भने, ‘आवश्यक सबै उपकरणसमेत हामीले तयारी अवस्थामा राखेका छौँ ।’

जेट फ्यान, आगलागी नियन्त्रण, विद्युत् र सञ्चार प्रणाली नियमित रूपमा सञ्चालनका लागि पनि सबै तयारी पूरा भएको छ । सुरुङभित्र आवश्यकताका आधारमा ठूला जेट फ्यानसमेत जडान गरिएको छ ।

दैनिक ८ हजार सवारीसाधन सुरुङमार्गबाट सञ्चालन

आयोजनाले मोटरसाइकल बाहेक दैनिक ८ हजारभन्दा बढी सवारी सुरुङबाट गुड्ने अपेक्षा गरेको छ ।
नागढुंगाको घुमाउरो उकालो–ओरालो सडकको विकल्पमा सुरुङ प्रयोग हुँदा काठमाडौं प्रवेश र बाहिरिने समय उल्लेख्य रूपमा घट्ने अपेक्षा छ ।

विशेषगरी लामो जाममा घण्टौँ रोकिनुपर्ने समस्या कम गर्न सुरुङ महत्वपूर्ण हुने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालले बताए ।

प्रतिनिधि सभाको भौतिक पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल भने निर्माण सम्पन्न भए पनि सञ्चालनमा ढिलाइ गरिएकोमा असन्तुष्ट छन् ।

‘हामी डेढ महिनाअघि अनुगमनमा जाँदा सबै तयारी थियो, तर अहिलेसम्म सञ्चालन हुन सकेन,’ गजुरेलले भने, ‘अब साउनको दोस्रो साताबाट जसरी पनि टनेल सञ्चालन हुनुपर्छ ।’

थप तस्विरहरु

n.jpg
Untitled-4-Recovered.jpg

 

सबै तस्विरहरु निशान मगर
सुनौलो नेपाल

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट