काठमाडौं । नेपाली कांग्रेसका सांसद निस्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमाथि कडा प्रहार गर्दै अहिलेको सरकारलाई ‘श्री ८ को सरकार’को संज्ञा दिएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद राईले गणेश नेपालीको आत्मदाह घटनाबारे संसदमा आवाज उठाउँदा गृहमन्त्री सुधन गुरुङले धम्कीपूर्ण भाषा प्रयोग गरी सांसदहरूको हुर्मत लिने प्रयास गरेको आरोप लगाए।
आत्मदाहको घटना र सुकुम्बासीका पीडाबारे आवाज उठाउँदा कांग्रेस सभापति गगनकुमार थापासहित सञ्चारमाध्यमका कार्यालयअगाडि गाडीको जाम लगाएर आतंक सिर्जना गर्न खोजिएको उनको आरोप छ।
‘सांसदले जनताको पीडा बोल्दा गृहमन्त्री धम्कीको भाषा बोल्नुहुन्छ। कांग्रेस सभापति र मिडियाका कार्यालयअगाडि गाडी तेस्र्याएर आतंक सिर्जना गर्न खोजिन्छ,’ राईले भने।
जेनजी आन्दोलनको जगमा वर्तमान सरकार बनेको उल्लेख गर्दै उनले अहिले त्यही पुस्तामाथि प्रहरीको बर्दी प्रयोग गरेर चरम दमन भइरहेको आरोप लगाए।
प्रधानमन्त्री बालेन्द्र शाहलाई ‘श्री ८’को संज्ञा दिँदै राईले विगतमा गरिब र विपन्नका पक्षमा गीत गाउने व्यक्ति र अहिलेका प्रधानमन्त्री एउटै व्यक्ति हुन् कि होइनन् भन्ने प्रश्नसमेत गरे।
‘हिजो गरिबको गीत गाउने बालेन्द्र शाह र आजका प्रधानमन्त्री बालेन्द्र शाह एउटै व्यक्ति हुन् कि होइनन् ?’ उनले प्रश्न गरे, ‘अहिले त श्री ८ को सरकारजस्तो देखिन थालेको छ।’
राईले वर्तमान सरकारको कार्यशैलीलाई पौराणिक पात्र हिरण्यकश्यपको प्रवृत्तिसँग समेत तुलना गरे। हिरण्यकश्यपलाई आफ्नै छोरा प्रह्लादले प्रश्न गर्दा उनको हत्या गर्ने योजना बनाइएजस्तै अहिले सरकारमाथि प्रश्न गर्नेलाई निशाना बनाउने प्रवृत्ति देखिएको उनको आरोप थियो।
‘हिरण्यकश्यपलाई आफ्नै छोरा प्रह्लादले प्रश्न गर्दा उसलाई मार्ने योजना बनाइएको थियो। आज देशमा पनि प्रश्न गर्नेलाई त्यही ढंगले व्यवहार गर्न खोजिँदैछ,’ उनले भने।
सुरक्षाकर्मीको घेराभित्र लुकेर हिँड्ने ‘अनधिकृत व्यक्तिहरू’को आतंक देशमा बढेको दाबी गर्दै राईले सरकारको सुरक्षा र प्रशासनिक संयन्त्रमाथि समेत प्रश्न उठाए।
कांग्रेस पुरानो पार्टी भए पनि पार्टीभित्र बोल्ने र प्रश्न गर्ने अधिकार रहेको उनको भनाइ थियो। राष्ट्रिय स्वतन्त्र पार्टीमा जस्तो सांसदहरूलाई बोल्न रोक नलगाइने भन्दै उनले आफूहरू कांग्रेसमा लाग्नुको कारणसमेत अभिव्यक्ति स्वतन्त्रता भएको बताए।
‘कांग्रेस पुरानो पार्टी होला, तर यहाँ बोल्ने अधिकार छ, रास्वपामा जस्तो सांसदको मुख बन्द गरिँदैन,’ राईले भने, ‘सत्तापक्षका रास्वपा सांसदहरूको मुखमा अहिले टेप लागेको छ ।’
सांसद राईले सरकार आलोचना र प्रश्नसँग डराउन थालेको आरोप लगाउँदै संसद र सडकबाट उठेका आवाजलाई धम्की र दमनबाट दबाउन खोजिए त्यसको प्रतिरोध हुने चेतावनीसमेत दिए ।
प्रतिक्रिया दिनुहोस