काठमाडौं । वागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरिएका पाँच सहकारी संस्थाका साना बचतकर्ताको रकम औपचारिक रूपमा फिर्ता गर्न सुरु गरेको छ । लामो समयदेखि आफ्नो बचत फिर्ताको पर्खाइमा रहेका पीडित बचतकर्तालाई रकम हस्तान्तरण गर्दै प्रदेश सरकारले बचत फिर्ता अभियान सुरु गरेको हो ।
वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार पीडित बचतकर्तालाई रकम हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गरेका छन् । पहिलो दिन ४२ जना बचतकर्ताको १७ लाख रुपैयाँ फिर्ता गरिएको छ ।
वागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीबाट संकलन भएको रकमका आधारमा पीडितको बचत फिर्ता गर्न थालेको हो ।
समितिका सूचना अधिकारी सुवास उप्रेतीका अनुसार पहिलो चरणमा प्रतिव्यक्ति १० हजारदेखि एक लाख रुपैयाँसम्म बचत फिर्ता गरिएको छ ।
‘पहिलो दिन १७ लाख रुपैयाँ फिर्ता गरेका छौं । अब बचतकर्ताकै बैंक खातामा रकम जम्मा गर्ने व्यवस्था गर्दैछौं,’ उप्रेतीले भने, ‘क्रमशः सबै पीडितलाई रकम हस्तान्तरण गर्छौं ।’
समस्याग्रस्त पाँच सहकारीमा एक हजार ७६५ जना पीडित बचतकर्ता रहेको समितिले जनाएको छ । ती सहकारीबाट हालसम्म नौ करोड ५४ लाख रुपैयाँ संकलन भएको छ । समितिले हाल संकलन भएकै रकमबाट बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको हो । ‘अहिले हामीले संकलन भएको रकमबाटै पीडितलाई बचत फिर्ता गरेका हौं,’ उप्रेतीले भने, ‘जति रकम संकलन हुन्छ, त्यसकै आधारमा क्रमशः बचत फिर्ता गर्दै जान्छौं ।’
समितिका अनुसार समस्याग्रस्त सहकारीमा बचतकर्ताको न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम १४ करोड रुपैयाँसम्म बचत फसेको छ । पीडितमध्ये अधिकांश काठमाडौं उपत्यकाका बचतकर्ता रहेको उप्रेतीले जानकारी दिए ।
बचत फिर्ता शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री बानियाँले सहकारी पीडितको रकम जसरी पनि फिर्ता गराउन प्रदेश सरकार लागिपरेको बताए । पीडितको बचत फिर्ताका लागि आवश्यक प्रक्रिया अघि बढाउँदै रकम संकलन र वितरणलाई निरन्तरता दिने उनको भनाइ थियो ।
वागमती प्रदेशअन्तर्गत समस्याग्रस्त सहकारीको सूचीमा सिभिल बचत तथा ऋण सहकारी, सोल्टिमोडस्थित दर्शन बचत तथा ऋण सहकारी, कीर्तिपुरको सुमेरु, नेशनल नमोबुद्ध, सामाखुसी र लालीगुँरास बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
लामो समयदेखि आफ्नो बचत फिर्ता पाउने आशामा रहेका पीडितहरू थोरै रकम भए पनि हात पर्दा खुसी देखिएका थिए । वर्षौंदेखि सहकारीमा फसेको रकम फिर्ता हुन थालेपछि बचतकर्तामा बाँकी रकमसमेत क्रमशः फिर्ता हुने आशा जागेको छ ।
प्रतिक्रिया दिनुहोस