काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सञ्चारमाध्यमका कार्यालय र राजनीतिक दलका नेताहरूको निवास अगाडि बेवारिस अवस्थामा सवारीसाधन छाड्ने घटनामा आफ्नै पार्टीका नेता–कार्यकर्ता संलग्न भए पनि कारबाही हुने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा केही समय सहभागी भएर फर्कने क्रममा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले उक्त घटनालाई रास्वपाले गम्भीर रूपमा लिएको बताए ।
‘हामी मात्रै त्यस्तो पार्टी हौँ, जसले ७२ घण्टाभित्र सांसदलाई कारबाही गरेका छौँ,’ लामिछानेले भने, ‘यो घटनामा पनि जोसुकै संलग्न भए पनि कारबाही हुन्छ। रास्वपाकै नेता–कार्यकर्ता भए पनि छाडिँदैन ।’
उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटवार्तामा सुकुम्बासी समस्या समाधानका विषयमा गम्भीर छलफल भएको जानकारी दिए। समस्या समाधानका लागि चाल्नुपर्ने उपयुक्त कदम र सम्भावित उपायबारे प्रधानमन्त्रीसँग कुराकानी भएको उनको भनाइ छ।‘यो समस्या समाधान गर्न जे कदम चाल्नुपर्ने हो, जुन कदम चाल्दा उपयुक्त हुन्छ, त्यसै विषयमा छलफल भएको छ,’ लामिछानेले भने ।
प्रधानमन्त्री शाहसँगको भेटमा राजनीतिकसहित अन्य समसामयिक विषयमा पनि परिणाममुखी छलफल भएको उनले बताए।
सभापति लामिछानेले गृह मन्त्रालयले सवारीसाधनमा प्रयोग गरिएका कालो स्टिकर तथा कालो सिसामाथि थालेको कारबाहीबारे पनि स्पष्ट पारे। कानुन र ट्राफिक नियम सबैले पालना गर्नुपर्ने भन्दै नियम उल्लंघन गर्ने जोसुकैमाथि कारबाही गर्न ट्राफिक प्रहरी स्वतन्त्र रहेको उनले बताए।
‘जोसुकैले पनि नियम मान्नुपर्छ। ट्राफिकलाई कारबाही गर्न खुला छ,’ लामिछानेले भने, ‘कालो सिसा भएका गाडीलाई पनि कारबाही हुन्छ।’
सोही क्रममा उनीसँगै रहेका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल चढेको गाडीमा कालो सिसा प्रयोग भएकोबारे सञ्चारकर्मीले जिज्ञासा राखेका थिए , जवाफमा लामिछानेले नियम उल्लंघन भएको भए उक्त गाडीमाथि पनि कारबाही हुने स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस