२०८३, श्रावण ५ गते

मंगलवार, श्रावण ५ गते २०८३

सुकुम्बासीहरुको पीडा

‘अंकल, आज मेरो जन्मदिन हो... मलाई हेप्पी बर्थ डे भन्नु न’ : होल्डिङ सेन्टरको चार पर्खालभित्र कैद ९ वर्षे सुरजको सपना

सोमवार , श्रावण ४, २०८३

सोमबार नार्गाजुनस्थित इचंगुनारायण होल्डिङ सेन्टर पुग्दा त्यहाँ कुनै उत्सवको माहोल थिएन,तर त्यही भीडभाड र अस्थायी बसोबासबीच एउटा बालक आफ्नो जन्मदिनको प्रतीक्षामा थियो । आठ वर्ष पूरा गरेर नौ वर्षमा प्रवेश गरेका सुरज साफीको अनुहारमा मुस्कानभन्दा बढी पीडा देखिन्थ्यो ।


हामीलाई देख्नेबित्तिकै उनले नजिक आएर बिस्तारै भने– ‘अंकल, आज मेरो जन्मदिन हो नि... मलाई हेप्पी बर्थ डे भन्नु न ।’

उनको त्यो वाक्यमा कुनै बालसुलभ चञ्चलता थिएन, थियो त केवल आफ्नोपन खोजिरहेको एउटा निरीह बालकको व्यथा , हामीले उनलाई जन्मदिनको शुभकामना दियौं, शुभकामना सुनेपछि उनको अनुहारमा केही क्षण मुस्कान झल्कियो, तर त्यो मुस्कान धेरै बेर टिकेन, त्यसपछि सुरु भयो उनको जीवनको कथा ।

e3da605d-1373-4e04-a4b3-5580ca55cd0b.jpg

‘म बल्खु नजिकैको सरस्वती माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्थेँ। अहिले त कक्षा २ मा जानुपर्ने हो, यति भन्दै उनी केहीबेर मौन भए। फेरि विस्तारै भने– ‘यहाँ आएपछि स्कुल छुट्यो, किताब हरायो, अहिले त स्कुल पनि बिरानो भयो ।’

सुरजका बुबा नैनकुमार साफी दिनभर फोहोरमैला र कवाडी सामग्री संकलन गरेर परिवार पाल्दै आएका थिए, उनकी आमा दृष्टिविहीन छिन् । यही सानो आम्दानीमा तीन जनाको परिवार जसोतसो चलिरहेको थियो, तर तीन महिनाअघि बल्खुस्थित बस्ती हटाउने सरकारी अभियानसँगै उनीहरूको संसार नै फेरियो ।

सरकारले बल्खु क्षेत्रबाट उठाएर इचंगुनारायणको होल्डिङ सेन्टरमा ल्याएपछि उनीहरूको दैनिकी अस्थायी टहराभित्र सीमित भएको छ, न स्थायी घर छ, न नियमित रोजगारी, न बालबालिकाको पढाइको सुनिश्चितता नै ।

आज नौ वर्षमा प्रवेश गरेका सुरजको सपना भने अझै बाँकी छ, उनी ठूलो भएर नेपाली आर्मी बन्न चाहन्छन्, हेलिकोप्टर चढ्ने उनको बालसुलभ रहर पनि छ । तर अहिले ती सबै सपना होल्डिङ सेन्टरको चार पर्खालभित्र कैद भएका छन् ।

होल्डिङ सेन्टरमा उनले नयाँ साथी त पाएका छन्, तर ती सबै साथीहरूको कथा पनि उस्तै छ, कसैले घर गुमाएका छन्, कसैले विद्यालय, कसैले आफ्नो भविष्यप्रतिको विश्वास ।

SH 1.jpg.jpeg

इचंगुनारायणको होल्डिङ सेन्टरमा झण्डै १५० परिवार बसिरहेका छन्। बल्खुको बागमती किनारमा वर्षौंदेखि बस्दै आएका उनीहरू अहिले एउटै माग दोहोर्याइरहेका छन्–‘हामीसँग आफ्नै जग्गा छैन,सरकारले दीर्घकालीन बसोबासको व्यवस्था गरिदियोस् ।’

होल्डिङ सेन्टरमा जन्मदिन मनाइरहेका सुरजजस्ता बालबालिकाका लागि जन्मदिन अब केक, उपहार र रमाइलोको दिन होइन, उनीहरूका लागि यो अर्को वर्ष पनि अस्थायी टहरामै बित्यो भन्ने सम्झना मात्र बनेको छ ।

सुरजको जन्मदिनमा उनले मागेको एउटै उपहार थियो—‘हेप्पी बर्थ डे’ भन्ने केही शब्द। तर वास्तवमा उनले खोजिरहेको उपहार त्योभन्दा धेरै ठूलो छ—एउटा घर, फेरि विद्यालय फर्किने अवसर, र अरू बालबालिका जस्तै निर्धक्क भएर भविष्यको सपना देख्न पाउने अधिकार ।

4ea88858-e689-4899-a1d5-c2defb3ac83c.jpg

होल्डिङ सेन्टरका चार पर्खालभित्र थुनिएका यस्ता सयौं बालबालिकाका सपना सरकारले कहिले सुन्ने? उनीहरूको जन्मदिनमा सुनिएको त्यो निरीह आवाज केवल शुभकामनाले मात्र होइन, दीर्घकालीन समाधानले उत्तर पाउने दिन कहिले आउला वर्तमान सरकारले त्यसको समाधान पक्कै गर्ला ।

होल्डिङ सेन्टर भित्रका केही तस्विरहरु

142582ba-2946-4402-818f-4d6402987f44.jpg
SH 2.jpg.jpeg
SH 6.jpg - Copy.jpeg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट