विराटनगर । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगी–व्यवसायीले वर्षौंदेखि देख्दै आएको सपना पूरा भएको बताए ।
उनले संघले झण्डै एक दशकदेखि निरन्तर पहल र पैरवी गर्दै आएको प्रत्यक्ष कार्गो रेल सेवा सञ्चालनमा आउनु समग्र उद्योगी–व्यवसायीका लागि ऐतिहासिक उपलब्धि भएको बताए । उनका अनुसार लामो समयदेखि मोरङ उद्योग व्यापार संघले गर्दै आएको निरन्तर पहल र पैरवीपछि कोलकाता–विराटनगर प्रत्यक्ष कार्गो रेल सेवा सञ्चालनमा आएको हो ।
अध्यक्ष राठीका अनुसार संघले पहिलो चरणमा भारतका बन्दरगाहबाट विराटनगर आईसीपी यार्डसम्म सोझै रेलमार्ग जोड्न आवश्यक पूर्वाधार निर्माणका लागि पहल गरेको थियो ।
संघको मागअनुसार पूर्वाधार निर्माणको काम करिब तीन वर्षअघि नै सम्पन्न भई परीक्षणसमेत गरिएको थियो । तर, त्यसबेला नेपाल–भारत व्यापार तथा पारवहन सन्धिमा रहेका नीतिगत व्यवस्थाका कारण सेवा नियमित रूपमा सञ्चालन हुन सकेको थिएन ।
साविकको सन्धिअनुसार कोइला, क्लिंकर, मल र नुन गरी चार प्रकारका वस्तु मात्र बल्क रेलमार्फत विराटनगर ल्याउन पाउने व्यवस्था थियो । त्यसपछि संघले व्यापार तथा पारवहन सन्धि संशोधनका लागि दोस्रो चरणको पहल सुरु गरेको अध्यक्ष राठीले बताए।
उनका अनुसार संघले नेपाल र भारत सरकारका सम्बन्धित निकायसमक्ष सचिवस्तरीय तथा कूटनीतिक बैठकमार्फत नीतिगत तथा कानुनी अवरोध हटाउन निरन्तर माग गर्दै आएको थियो। सबै प्रकारका औद्योगिक कच्चा पदार्थ तथा अन्य सामान विराटनगर यार्डसम्म बल्क तथा कन्टेनर कार्गोमार्फत ल्याउन पाउने व्यवस्था गर्न संघले निरन्तर पैरवी गरेको थियो ।
नेपाल र भारत सरकारबाट नीतिगत तथा कानुनी जटिलता समाधान भएपछि कोलकाता–विराटनगर सिधा कार्गो रेल सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
अध्यक्ष राठीले रेल सेवाबाट नेपाली उद्योगी–व्यवसायीले उल्लेखनीय लाभ प्राप्त गर्ने बताए। सडकमार्गको तुलनामा रेलमार्फत कच्चा पदार्थ तथा वस्तु ढुवानी गर्दा लागतमा ३५ देखि ४० प्रतिशतसम्म बचत हुने उनको भनाइ छ। त्यस्तै, सडकमार्गबाट सामान ल्याउँदा लाग्ने पाँचदेखि सात दिनको समय रेलमार्फत २४ देखि ७२ घण्टामा घट्ने अपेक्षा गरिएको छ ।
सबै कन्टेनरमा विद्युतीय कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस) जडान हुने भएकाले सामानको सुरक्षा र निगरानीसमेत सहज हुने संघले जनाएको छ । यसबाट बाटोमा हुने चोरी तथा क्षतिको जोखिम घट्नुका साथै सामान र रेलको अवस्थाबारे मोबाइलबाटै जानकारी लिन सकिनेछ । बन्दरगाहमा लाग्ने डेमुरेज तथा डिटेन्सन शुल्क घटाउनसमेत यस सेवाले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
रेल सेवाको सञ्चालनले आगामी दिनमा विराटनगर तथा मोरङ–सुनसरी औद्योगिक करिडोरबाट उत्पादित वस्तु भारत तथा तेस्रो मुलुकमा निर्यात गर्नसमेत सहज हुने अध्यक्ष राठीले बताए । विराटनगरमै सिपिङ लाइनका कार्यालय स्थापना भई कन्टेनर उपलब्ध हुन थालेमा नेपाली उद्योगको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता अझ बलियो हुने उनको भनाइ छ ।
संघका अध्यक्ष राठीले ऐतिहासिक सेवा सञ्चालनका लागि आवश्यक कानुनी तथा नीतिगत सुधार गरी सहयोग गरेकोमा नेपाल र भारत सरकारप्रति आभार व्यक्त गरे ।
उनले मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगी–व्यवसायी, आयातकर्ता, निर्यातकर्ता तथा समग्र नेपाली नागरिकलाई यस उपलब्धिका लागि बधाई दिँदै आगामी दिनमा सेवा निरन्तरता, थप सहजीकरण र व्यापार प्रवद्र्धनका लागि संघले सरोकारवाला निकायसँग निरन्तर समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भारतको कोलकाता बन्दरगाहबाट नेपालको विराटनगरस्थित एकीकृत जाँचचौकी (आईसीपी) सम्मको प्रत्यक्ष बल्क तथा कन्टेनर कार्गो रेल सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
प्रतिक्रिया दिनुहोस