२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

लगानी जुटाउन पहिलो पटक बोण्ड बजारमा जाँदै एचआइडिसिएल, ५ अर्ब ल्याउने तयारी

बिहिवार , पौष ११, २०८१

काठमाडौं । लगानी जुटाउन विभिन्न उपकरणहरु मध्ये ऋणपत्र (बोण्ड) एक महत्वपूर्ण वित्तीय औजार हो । त्यसमाथि ठूला पूर्वाधारमा लगानी जुटाउन बोण्डको ठूलो भुमिका रहने गरेको छ । नेपालमा बोण्ड बजार सानो छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले निष्कासन गरेर बोण्ड बजार चलायमान भइरहेको छ ।

बैंकहरुले डेढ खर्ब रुपैयाँ भन्दा बढीको बोण्ड जारी गरिसकेका छन् । अहिले बैंकिङ प्रणालीमा अधिक तरलताले गर्दा बैंक तथा वित्तीय संस्थाहरुले बोण्ड जारी गरेका छैनन् । बैंकिङ प्रणालीमा ७ खर्ब रुपैयाँ लगानीयोग्य पुँजी छ ।

जलविद्युतमा लगानी गर्न स्थापना भएको हाइड्रो इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) पनि ऊर्जामा थप लगानी गर्न बोण्ड निष्कासको प्रक्रिया अघि बढाएको छ ।

कम्पनीले पहिलो चरणमा ५ अर्ब रुपैयाँ ऊर्जा ऋणपत्र ल्याउने तयारी गरेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) अर्जुनकुमार गौतमले सुनौलो नेपाललाई बताए । उनले एक दुई वर्षभित्र बजारमा ऊर्जा बोण्ड जारी गर्ने बताए ।

एचआइडिसिएलले अहिलेसम्म विभिन्न जलविद्युत आयोजनाहरुमा ५५ अर्ब रुपैयाँ ऋण लगानीको प्रतिवद्धता जनाएको छ । जसमध्ये २८ अर्ब रुपैयाँ मात्र पुँजी एचआइडिसिएलसँग छ । बाँकी लगानी रकम जुटाउन पर्ने दबाबमा कम्पनी छ । पछिल्लो चार वर्षमा मात्रै एचआइडिसिएलको ऋण लगानी प्रतिवद्धता ४५ अर्ब रुपैयाँ बढेको सिइओ गौतमले जानकारी दिए । पुँजी भन्दा बढी लगानी प्रतिवद्धता भएकाले लगानी जुटाउन बोण्डमार्फत बजारमा जान लागेको उनले सुनाए । ‘बोण्ड जारी गर्न एचआइडिसिएलले् अवधारणापत्र (कन्सेप्ट पेपर) बनाइसकेको छ । त्यसको ‘प्रोडक्ट डिजाइन’ गरिसकेका छौँ । त्यसको सम्भाव्यता अध्ययन गरिसकेका छौँ' उनले भने ।

‘नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले ऊर्जामा लगानी गर्ने विशिष्टिकृत संस्थाले जारी गरेको बोन्ड कुनै बैंक तथा वित्तीय संस्थाले खरिद गरेमा उसले ऊर्जामा लगानी गरेको मान्य छ भनेर स्वीकारेको छ’ उनले भने ‘त्यसको अर्थ बोन्ड जारी गर है भनेर एचआइडिसिएललाई भनेको हो ।’

केन्द्रीय बैंकले नीतिगत व्यवस्था गरेकाले हामीले त्यसलाई कार्यान्वयन गर्ने प्रक्रिया पनि अगाडि बढाएको उनको भनाई छ ।

बोन्ड जारी गर्ने कुरा पुँजी र ट्रेजरी व्यवस्थापनसँग सम्बन्धित रहेको छ । ट्रेजरी व्यवस्थापनले दिएको संकेतअनुसार बोन्ड जारी गर्ने योजना एचआइडिसिएलको छ ।

बोन्ड जारी गर्दा अर्थ मन्त्रालय, राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड (सेबोन) को स्वीकृति चाहिन्छ । ‘प्रोडक्टका फिचर’ र ब्याजदर कति हुने भन्ने कुरा नियमकसँग छलफल गरिसकेपछि मात्र त्यसलाई हामीले एकिन गर्न सकिने सिइओ गौतम बताउँछन् ।

एचआइडिसिएलले जारी गर्ने ऋणपत्र ऊर्जा बोन्ड सर्वसाधारण, बैंक तथा वित्तीय संस्थाका साथै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष र बिमा कम्पनीहरुले किन्न सक्ने उनको भनाई छ ।

यस्तै कम्पनीले रेमिट्यान्सका लागि छुट्टै ‘रेमिट बोन्ड’ भनेर वैदेशिक रोजगारबाट आएको पैसालाई पुँजीकरण गर्ने र भोलि त्यसलाई इक्विटीमा परिवर्तन गर्ने खालका ‘हाइब्रिड’ किसिमका वित्तीय औजारहरु जारी गर्ने तयारी कम्पनीको छ । नेपालमा बिमा कम्पनीहरुको कूल पुँजी हेरियो भने झण्डै १० खर्ब रुपैयाँ हाराहारीमा छ । त्यो भनेको दीर्घकालीन स्रोत हो ।

‘संस्थालाई अन्य बैंकको सहवित्तीयकरणमा मात्र ऋण लगानी गर्ने कार्यादेश थियो भने अहिले राष्ट्र बैंकले अन्य बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमा नेतृत्व गर्नेसमेत कार्यादेश दिएको छ, यो पनि हाम्रो अर्को उपलब्धि हो’ उनले भने ।

सेयरमा लगानी गरेका १५ वटा आयोजना मध्ये दुई वटाबाट मात्र कम्पनीले प्रतिफल प्राप्त गरेको छ । अरु भनेको निर्माणाधीन छन्, निर्माण भर्खर सुरु गरेका छन् वा अन्तिम चरणमा छन् । तिनीहरुले प्रतिफल दिन थालेका छैनन् । ती कम्पनीहरुबाट राम्रो प्रतिफल आउन थालेपछि हामीलाई अलि सहज हुने उनको भनाई छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट