२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाललाई क्षयरोग मुक्त बनाउनुपर्छ : मन्त्री पौडेल

बिहिवार , जेठ ३०, २०८२

जनकपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपाललाई क्षयरोग मुक्त बनाउनका लागि सरकारी तथा गैरसरकारी संस्था हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरको आयोजनामा क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रमअन्तर्गत आज जनकपुरधाममा आयोजना गरिएको दुईदिने प्रदेशस्तरीय समीक्षा कार्यक्रममा मन्त्री पौडेलले क्षयरोग मुक्त देश बनाउने अभियान सफल बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारबीच अधिकतम सहकार्य आवश्यक भएको बताए ।

भारतसँग सिमाना जोडिएको मधेस प्रदेशका जिल्लामा क्षयरोग नियन्त्रण कठिन हुने भएकाले सीमासँग जोडिएका भारतीय क्षेत्रका प्रशासनसँग सहकार्य गरेर प्रभावकारी नियन्त्रण तथा खोजतलास गर्न सकिने उनको भनाइ थियो ।

मन्त्री पौडेलले देशमा साधन श्रोतको अभाव भए पनि स्वास्थ्य क्षेत्रमा ४ प्रतिशत बजेट भएको उल्लेख गर्दै स्वास्थ्यका सबै समस्या समाधान गर्न कठिन भए पनि स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यहरू अगाडि बढाइरहेको बताए । उनले सरकारी स्वास्थ्य संस्थामा सेवाग्राहीको चाप बढ्नु सरकारी स्वास्थ्यप्रतिको जनविश्वास भएको जिकिर गर्दै क्षयरोग जस्ता रोगको उन्मूलनका लागि सबैको सहयोग आवश्यक भएको बताए ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा अंकुर साहले मधेसमा अत्यधिक मात्रामा जनसङ्ख्या भएका कारणले स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मधेस स्वास्थ्य विज्ञानको प्रयासले मात्र स्वास्थ्यको सम्पूर्ण समस्याको समाधान कठिन हुने बताए ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले स्वास्थ्य क्षेत्रमा सङ्घीयताको राम्रो अभ्यास भए पनि प्रदेश तथा स्थानीय तहले मात्र समस्याको समाधान गर्न कठिन भएको बताए । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा श्रीराम तिवारीले क्षयरोग मुक्त नेपाल बनाउनका लागि मधेस प्रदेशका २५ पालिकामा क्षयमुक्त पालिका बनाउने अभियान सुरु गरेको बताउँदै गत वर्ष नेपालमा फेला परेका ४० हजार सात सय ७६ नयाँ क्षयरोगीको उपचार गर्ने काम भइरहेको जानकारी दिए ।

कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव राजेशकुमार मिश्र, धनुषा स्वास्थ्य कार्यालयका प्रमुख, जनस्वास्थ्य प्रशासक उमेशकुमार यादव, क्षयरोग नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको नुरा हेल्थका नेपाल निर्देशक डा सुशील कोइरालासहितले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट