कास्की । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफु मातहतका ४ अस्पताललाई पहिलो पटक गाडीको व्यवस्था गरेको छ । बागलुङको धौलागिरी आयुर्वेद अस्पताल र बुर्तिबाङ अस्पताल, गोरखाको आँपपिपल अस्पताल र कास्कीको गण्डकी आयुर्वेद अस्पताललाई गाडी उपलब्ध गराइएको हो ।
स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सम्बन्धित स्वास्थ्य संस्थालाई सोमबार गाडीको चावी हस्तान्तरण गरे । प्रदेश सरकारले गण्डकीका १३ अस्पताललाई हालैमात्र स्तरोन्नति गरेको थियो । अस्पतालको बेड थपेर मात्रै स्तरोन्नति नहुने भन्दै मन्त्री पाठकले अस्पतालहरुको सुदृढिकरण गर्ने योजना अनुसार गाडी प्रदान गरिएको बताए । ‘अस्पताललाई भवन, उपकरणलगायत पूर्वाधारयुक्त बनाउँदै लगेर सेवाप्रवाहलाई चुस्त बनाउने योजना भएको बताए ।
मन्त्रालयले बागलुङस्थित धौलागिरि अस्पतालमा स्टाफ नर्स र गोरखाको आँपपीपल अस्पतालमा एचए विषय पढाउने तयारी समेत गरेको छ । “आगामी साउनदेखि नै एचए र नर्सिङ विषय पढाउने र सोका लागि एक करोड बजेटसमेत विनियोजन गरेको छ । मन्त्रालयले धौलागिरि प्रादेशिक अस्पताललाई हालै १०० श्ययामा स्तरोन्नति गरेपछि स्टाफ नर्स पढाउने बाटो खुलेको थियो ।
एचए पढाउने तयारी भइरहेको गोरखाको आँपपीपल अस्पताल पनि अहिले ५० श्ययामा स्तरोन्नति गरिएको छ । स्टार्फ नर्सका लागि बागलुङ नगरपालिका–१४ स्थित ‘सिटिइभिटी’को भवनमा सैद्धान्तिक विषयको पढाइ र व्यवहारिक अभ्यास धौलागिरि अस्पतालमा हुने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस