२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मास्टर सेफ साहले काठमाडौंको नक्सालमा सुरु गरे ‘जनकपुर फिस हाउस’

बुधवार , आषाढ १८, २०८२

काठमाडौं । नक्सालमा ‘जनकपुर फिस हाउस’को उद्घाटन भएको छ ।

बिबिसी मास्टर सेफ सन्तोष साहले मङ्गलबार साँझ फिस हाउसको उद्घाटन गर्दै भने, ‘म नेपालभित्र तराईको खाना र नेपालबाहिर समग्र नेपाली खाना प्रवर्द्धन गरिरहेको छु, यो मेरो आफ्नो खानासँगको प्रेम हो ।’

नक्सालको मिथिला थाली प्राङ्गणमा सुरु गरिएको ‘जनकपुर फिस हाउस’मा माछाका परिकारमा जनकपुरको स्वाद दुरुस्तै पस्कने उनी बताउँछन् । 'माछा पकाउने शैली र स्वाद दुरुस्तै ल्याउने प्रयास गरेका छौँ, यसले उहाँहरुलाई जनकपुरे माछाको तलतल मेटाउने छ ।', उनले भने ।

फिस हाउसमा ओपन किचन छ । मङ्गलबार साँझ जनकपुर फिस हाउसमा उपस्थित विभिन्न क्षेत्रका पाहुनालाई सेफ आफैँले माछा पकाएर खुवाएका थिए । उपस्थित पाहुनाले माछाको स्वाद निकै मीठो भएको प्रतिक्रिया दिएका थिए । उनीहरुले माछाका पारखीका लागि नक्सालको जनकपुर फिस हाउस प्रमुख गन्तव्य बन्नेमा विश्वास व्यक्त गरे ।

जनकपुरमा जस्तै मोटो तावामा, सर्सिउँको तेलमा तारेको माछालाई धेरैले मन पराउनेमा सेफ साह विश्वस्त छन् । सेफ सन्तोषको यो काममा उनका दाजु सेफ दिलीपले साथ दिएका छन् । सन्तोषलाई हस्पिटालिटी क्षेत्रमा भित्र्याउने दिलीपसँग नेपाल, भारत र मध्य अमेरिकाका हस्पिटालिटी क्षेत्रमा काम गरेको साढे तीन दशक लामो अनुभव छ ।

सेफ दिलीप भन्छन्, 'जसरी काठमाडौंमा किलोमा सेकुवा खाने प्रचलन छ, त्यसरी नै माछाको मात्र प्रचलन गर्ने उद्देश्यले यो रेस्टुराँ खोलिएको हो, जनकपुरमा जसरी माछा खाने परम्परा छ, त्यो स्वाद र अनुभव यहाँ ल्याउने हाम्रो प्रयास हो । पछिल्लो समय स्वास्थ संयम भएर 'व्ह्वाइट मिट' खाने परम्परालाई पनि यसले सघाउनेछ ।'

उनका अनुसार फिस हाउसमा करिब दश प्रकारका माछाका परिकार पाइन्छ । स्पेशल तावा फिस अर्डर गर्दा सानो जनकपुरी मुरी (साँदेको खट्टे) र मुलाको अचारसँगै चाख्न पाइनेछ । ट्राउट, झिँगे माछा, फिस चिली, फिस सेट जस्ता परिकारहरू पनि उपलब्ध छन् । सबै परिकारहरू जनकपुरको पारम्परिक स्वाद र शैलीमा तयार पारिन्छन् ।

जनकपुर फिस हाउसमा पेय पदार्थ पनि सुलभ मूल्यमै उपलब्ध गराइएको सेफ साहको भनाइ छ । पछिल्लो समय सेफ साहले अमेरिकादेखि युरोप, न्युजिल्यान्ड, अष्ट्रेलिया, जापानसम्म उनले नेपालका विभिन्न समुदाय र जातिका मौलिक परिकार आफ्ना नेपाली रैथाने स्वादका रेसिपीको पप–अप शो आयोजना गर्दै आएका छन्, जसमा साहले करिब डेढ दर्जन परिकार पस्कन्छन् । उनको यो पप–अप शो अहिले विश्वका विभिन्न देशमा माग आइरहेको छ ।

स्वदेशमा भने साह मिथिला थालीको प्रचारप्रसारमा काम गरिरहेका छन् । जनकपुरमा ‘मिथिला थाली’ खोलेको एक वर्ष पछि गत बर्ष काठमाडौंबासीलाई मिथिला परिकार खुवाउने उद्देश्यले लतिलपुरको झम्सिखेलमा ‘मिथिला थाली’ रेष्टुरेन्ट सुरु गरेका साहले त्यसपछि नक्साल र गौशालामा आउटलेट विस्तार गरे ।

राजधानीबासीलाई मिथिला थालीको स्वाद चखाएपछि सेफ साह यतिबेला जनकपुरको स्वाद पस्कने माछाका परिकार लिएर आएका हुन् । साहका शब्दमा यो प्रयास ‘क्रस प्रमोसन’को एउटा अंश हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट