काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदैछन् ।
प्रधानमन्त्रीसँगको भेटका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा दिन आउन लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ मा भारत भ्रमणमा जाने तयारी छ ।
परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा नेपाल–भारत साझेदारीका विभिन्न पक्ष, कनेक्टिभिटी, विकास सहयोग र आपसी हितका अन्य विषयहरूमा दुई परराष्ट्र सचिवबीच कुराकानी हुने उल्लेख छ ।
भारतको विदेश मन्त्रालयले पनि भारत र नेपालबीच बलियो मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै विज्ञप्तिमा नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको उल्लेख गरेको छ ।
प्रधानमन्त्री बनेको १४ महिनापछि ओलीको भारत भ्रमण हुन लागेको हो । विदेश सचिव मिस्रीको काठमाडौंमा हुने भेटवार्तामा प्रधानमन्त्री भारत भ्रमणका एजेण्डाको द्विपक्षीय तयारी गरिने छ ।
प्रधानमन्त्री भएयता ओली पहिलोपटक भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री भएको १४ महिनासम्म पनि भारतले निम्तो गरेको थिएन । प्रधानमन्त्री ओली भारत भ्रमणमा जानुअघि दोस्रोपटक चीन भ्रमणमा जाँदै छन् । सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन उनी चीन जान लागेका हुन् ।
१४ भदौमा चीन जाने ओलीले १८ भदौमा चिनियाँ राष्टपति सी चिनफिङसँग भेट्नेछन् । साथै, चीनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस