काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले संसद्मा सीमा विवादका विषयमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् । अध्यक्ष साम्पाङले प्रधानमन्त्रीको उक्त भनाइलाई ‘राष्ट्रघाती’ को संज्ञा दिँदै तत्काल सच्याउन माग गरेका छन् ।
श्रम संस्कृति पार्टीको तर्फबाट जारी गरिएको आधिकारिक विज्ञप्तिमा प्रधानमन्त्रीले पूर्वनिर्धारित कार्यसूचीबिनै आकस्मिक रूपमा बोलाइएको सदन बैठकमा ‘नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध जनाइएको हो ।
अध्यक्ष साम्पाङद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आजै भारत प्रस्थान गर्नु र प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनुलाई शङ्कास्पद रूपमा हेरिएको छ । लामिछाने भारत जानुअघि नयाँ दिल्लीलाई खुसी पार्ने रणनीतिक उद्देश्यका साथ प्रधानमन्त्रीले यस्तो आत्मसमर्पणवादी अभिव्यक्ति दिएको हुन सक्ने आशङ्का विज्ञप्तिमा व्यक्त गरिएको छ ।
विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइले नेपाल–भारत ऐतिहासिक सीमा विवादको मूल विषयलाई ओझेलमा पार्ने, कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता हुनुपर्ने नेपाली जनताको दशकौँदेखिको बलियो मागलाई कमजोर बनाउने तथा राष्ट्रिय हितविपरीत अन्तर्राष्ट्रिय सन्देश दिने ठहर गरिएको छ । पार्टीले प्रधानमन्त्रीको यो गैरजिम्मेवार अभिव्यक्तिले अन्तर्राष्ट्रिय समुदायमा नेपालको सीमा सम्बन्धी आधिकारिक अडान र अवस्थाबारे गम्भीर अन्योल एवं भ्रम सिर्जना गरेको दाबी गरेको छ ।
त्यस्तै, सरकारले नेपाली सेनालाई सीमा सुरक्षा जस्तो संवेदनशील जिम्मेवारीभन्दा अन्य खुद्रे र व्यावसायिक कार्यमा केन्द्रित गराएको आरोप लगाउँदै सीमाना सुरक्षाप्रति वर्तमान सरकार कत्ति पनि गम्भीर नरहेको टिप्पणी समेत विज्ञप्तिमा गरिएको छ ।
श्रम संस्कृति पार्टीले नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको रक्षाका लागि सरकारलाई खुट्टा नकमाउन र सीमा सुरक्षाको विषयमा तत्काल स्पष्ट एवं जिम्मेवार बन्न जोडदार माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस