सिन्धुपाल्चोक, संसदको सबैभन्दा ठूलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी असार ७, ८ र ९ गते चितवनमा हुने पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । महाधिवेशनअन्तर्गत देशभर पालिका अधिवेशन चलिरहेका बेला सिन्धुपाल्चोकमा पनि नेतृत्व चयनको प्रक्रिया तीव्र बनेको छ ।
जिल्लाका १२ स्थानीय तहमध्ये हालसम्म १० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ । पहिलो पटक अधिवेशनमार्फत पालिका नेतृत्व चयन गर्न लागेको रास्वपाले अधिकांश पालिकामा सर्वसम्मत नेतृत्व चयन गरे पनि केही पालिकामा निर्वाचनमार्फत नेतृत्व टुंग्याएको छ ।
सम्पन्न १० पालिका अधिवेशनमध्ये चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका र भोटेकोशी गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रिया अपनाइएको थियो ।
जिल्ला सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा भएको निर्वाचनबाट पत्रकारसमेत रहेका विजय नेपाल सभापतिमा निर्वाचित भएका छन् । यस्तै बलेफी गाउँपालिकामा घमेश थापा सभापतिमा निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी ङेम्लिङ लामालाई पराजित गरेका थिए । भोटेकोशी गाउँपालिकामा पनि निर्वाचनमार्फत विष्णु श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन्।
जुगल गाउँपालिकामा भने उद्घाटन सत्र सम्पन्न भए पनि नेतृत्वका लागि धेरै आकांक्षी देखिएपछि बन्द सत्र स्थगित गरिएको छ । यता, लिसंखुपाखर गाउँपालिकाको अधिवेशन जिल्ला अधिवेशनअघि नै सम्पन्न गरिने रास्वपाका नेता जेपी सिलवालले जानकारी दिए।
पालिका अधिवेशन सम्पन्न भएपछि जेठ २३ र २४ गते चौतारामा जिल्ला अधिवेशन आयोजना हुने भएको छ । जिल्ला अधिवेशनमा पालिकाबाट छनोट भएका प्रतिनिधिहरू सहभागी हुनेछन् । जिल्ला अधिवेशनबाट चयन हुने प्रतिनिधिहरूले चितवनमा हुने पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागिता जनाउनेछन् ।
प्रतिक्रिया दिनुहोस