काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्दैछन् ।
भ्रमणको सिलसिलामा नयाँ दिल्लीमा रहेका लामिछानेले आज प्रधानमन्त्री मोदीसँग दुई पक्षीय आपसी हित र कूटनीतिक सम्बन्धका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।
रास्वपा सभापति लामिछानेले यसअघि मङ्गलवार नै भारतका उच्च राजनीतिक नेतृत्वसँग महत्त्वपूर्ण भेटघाट गरिसकेका छन् । उनले भाजपाका अध्यक्ष नीतिन नवीन, भारतका विदेशमन्त्री एस जयशंकर तथा गृहमन्त्री अमित शाहसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलबीचको संवाद र सहकार्यका विविध पक्षमा गहन विचार–विमर्श भएको रास्वपा स्रोतले जनाएको छ।
छिमेकी मुलुक भारतको सत्तारुढ दल भाजपाले लामिछानेलाई रेड कार्पेट सहित विशेष स्वागत गरेको छ। नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपा र भाजपाबीचको यो दलगत तहको कूटनीतिक संवादलाई नेपाल–भारत राजनीतिक सम्बन्धका दृष्टिले निकै महत्त्वपूर्ण रूपमा हेरिएको छ।
लामिछानेसहितको रास्वपा प्रतिनिधिमण्डल आफ्नो राजनीतिक भ्रमण पूरा गरी आगामी जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस