२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्य आवश्यक : प्रवलजंग पाण्डे

बुधवार , जेठ २७, २०८३

स्विट्जरल्याण्ड । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ११४औँ सत्रमा नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता, उद्यम उत्पादकत्व वृद्धि र सरकार, रोजगारदाता तथा श्रमिकबीच सुदृढ त्रिपक्षीय सहकार्य आवश्यक रहेको बताएका छन् । 

सम्बोधनका क्रममा उनले नेपाल हाल आर्थिक संक्रमणको चरणमा रहेको उल्लेख गर्दै सुस्त आर्थिक वृद्धि, सीमित औद्योगिक विकास र बढ्दो व्यावसायिक लागतजस्ता चुनौती समाधान गर्न प्रभावकारी नीतिगत सुधार आवश्यक रहेको धारणा व्यक्त गरे ।

उनले रोजगारीको खोजीमा नेपाली युवाहरू विदेशिने क्रम बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै स्वदेशमै मर्यादित र उत्पादक रोजगारी सिर्जना गर्न लगानीमैत्री नीति, सीप विकास तथा शिक्षा र श्रम बजारबीचको समन्वय अपरिहार्य रहेको बताए ।

त्यसैगरी, डिजिटल अर्थतन्त्रको विस्तारसँगै राइड–शेयरिङ तथा डेलिभरी जस्ता अनलाइन सेवामा युवाको सहभागिता बढेको उल्लेख गर्दै उनले यसले नयाँ अवसरसँगै श्रम मापदण्ड र सामाजिक सुरक्षासम्बन्धी चुनौती पनि थपेको बताए।

उनले विकासशील मुलुकहरूलाई कठोर अन्तर्राष्ट्रिय श्रम मापदण्ड सिधै लागू गर्नुको सट्टा राष्ट्रिय वास्तविकताअनुसार लचिलो नीति आवश्यक हुनेमा जोड दिए।

पाण्डेले कार्यस्थल सुरक्षा, स्वास्थ्य मापदण्ड, हरित रोजगारी प्रवर्द्धन तथा “केयर मोडल” जस्ता कार्यक्रम नेपालमा सुरु गरिएको जानकारी दिँदै अन्तर्राष्ट्रिय श्रम संगठनसँग प्राविधिक सहयोग विस्तार गर्न आग्रह गरे ।

त्यसैगरी, मध्यपूर्वमा देखिएको भू–राजनीतिक तनावले रेमिट्यान्समा निर्भर नेपाली अर्थतन्त्रमा असर पार्न सक्ने भन्दै रोजगारी संरक्षण र आर्थिक स्थिरताका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे ।

पाण्डेले आर्थिक वृद्धि र श्रम अधिकारलाई सँगसँगै अघि बढाउन आपसी विश्वास र साझेदारीमा आधारित नीति आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट