२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

सदनमा के भने कांग्रेस संसदीय दलका नेता आङदेम्बेले (सम्बोधनको पुर्ण पाठ)

बुधवार , जेठ २७, २०८३

काठमाडौ /  प्रधानमन्त्री बालेन्द्र शाहाले नेपालले पनि भारतको भुमी मिचेको अभिव्यक्ति दिएपछि संसद अवरुद्ध हुदै आएको छ । ससंदको अवरोध हटाउनका लागि रास्वपा सभापति रबि लामिछानेले मंगलबार र बुधबार प्रतिपक्षका नेताहरु सँग छलफल गरे ।

बुधबारको छलफल सकारत्मक भएपछि सदनमा प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङदेम्बे लाई सभामुख डिपी अर्यालले सम्बोधन गर्न दिएका थिए  आङदेम्बे को सम्बोधन निकै मार्मिक र सत्तापक्ष प्रति आक्रोश र आक्रमक समेत थियो । उनले घुमाउरो शैलिमा सभामुखलाई समेत कटु आलोचना गरेका थिए । बुधबार संसदको बैठकमा कांग्रेस संसदीय दलका नेता आङदेम्बे  सम्बोधनको पूर्णपाठ ।

सम्माननीय सभामुख महोदय, 

आज असामान्य परिस्थितिमा म यो सम्मानित सदनलाई सम्बोधन गर्न उभिएको छु ।

म जान्दछु– म त्यो देशको नागरिक हुं, जुन देश इतिहासमा कहिल्यै कसैको उपनिवेश बनेन म जान्दछु– मेरो देश वीर गोर्खालीको देश , दुनियाँमा कहिल्यै कसैका सामु झुकेन ।

तपाईं हामी कयौंले बाल्यकालदेखि गोपाल योन्जनको गित सुन्दै आयौं – 

खोसेको रोटीले मेरो पेट भरिन्न,
मागेको धोतिले मेरो लाज छोपिन्न,
घोटिएर हात–पाउ झरिजाउन् औंला,
तर कोई अगाडि यी हात जोडिन्न।
बनेको छ पहराले यो छाती मेरो 
सभामुख महोदय,
यो राष्ट्रिय गितको शब्द  शब्दले यहि सन्देश दिएको छ कि नेपाली आमाको गर्भबाट हिजो जन्मिएका या भविस्यमा जन्मने प्रत्येक बच्चा, प्रत्येक मान्छे–  शिरमा स्वाभिमान बोकेर बाँच्नेछ । सगरमाथा मात्रै होईन, सगरमाथा जत्रै स्वाभिमान बोकेर बाँच्नेछ ।

तर यसो सोच्छु सभामुख महोदय, आज गोपाल योन्जन हुनुन्थ्यो भने – ’हाम्रो देशले छिमेकीको सिमाना मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति सुनेर के भन्नुहुन्थ्यो होला ?

उहाँले पक्कै शोध्नुहुने थियो– उनले पनि मिचे, हाम्ले पनि मिच्यौं के हिसाब बराबर भन्न खोज्नुभएको हो प्रधानमन्त्रीजि ?

दुनियाँलाई थाहा छ सभामुख महोदय,

लिपुलेक हाम्रो हो, 
कालापानी हाम्रो हो, 
लिम्पियाधुरा हाम्रो हो 
यहि संसदले ती भुभाग सहितको नेपालको नक्सा पारित गरेको पनि दुनियाँलाई थाहा छ ।

यो बिषयको हल उत्तेजना र आवेगले होईन संयमित ढंगले गहन संवादको माध्यमबाट कुटनैतिक प्रक्रियाबाट हुनुपर्छ हामी सबै यहि चाहन्छौं त्यसका लागि हामी पक्ष – प्रतिपक्ष सबै नै सरकारको साथमा थियौं र छौं तर सरकार र सत्तारुढ पार्टीको रवैया यो गम्भीर प्रश्न प्रती गम्भीर देखिन्न । 

सभामुख महोदय , 
सरकार अलग कुरा हो, पार्टी अलग,मन्त्री / प्रधानमन्त्री पद अलग हो , सांसद अलग 
यो तथ्य बुझेर अघिल्लो संसदमा जुन बेला मेरो पार्टी नेपाली काँग्रेस सरकारमा थियो, त्यसबेला काँग्रेसकै दुई महामन्त्री रोस्ट्रममा उभिएर आफ्नै सरकारको पनि कमजोरी केलाउनु हुन्थ्यो ।

काँग्रेसकै सांसदहरू काँग्रेसकै मन्त्री ÷ प्रधानमन्त्रीका विरुद्ध आवश्यक बिषयमा प्रश्न उठाउनु हुन्थ्यो  िप्रहार गर्नुहुन्थ्यो  ित्यसैले दम राखेर भन्न सकियो – काँग्रेस लास र दासहरुको पार्टी होइन ।

तर .... आजको मितिमा म यो संसदमा प्रश्न गर्ने क्षमताले आत्महत्या गरिरहेको बडा कारुणिक दृश्य हेरिरहेको छु सत्ताको कित्ताबाट कोहि एकजनाले हिम्मत गर्लान् र मेरो देशले कसको सिमा कहाँ मिचेको छ ? भनेर प्रश्न गर्लान् भनेको त।

सभामुख महोदय म लज्जित छु– उल्टै कतिपय सांसद मित्र नेपालले भारतको सिमा मिचेकै हो भनेर पुष्टि गर्न न्वारानदेखिको बल लगाएर दौडिएका छन्। त्यस्तो हर्कत गर्ने मित्रहरूलाई वीर भक्ती थापाको आत्माले धिक्कार्ला कि नधिक्कार्ला ? यो शोधेर म उसै दुखी मनहरुलाई थप दुखित बनाउन चाहन्न !

बरु सभामुख महोदय ,

म यो संसद अब यहि बिषयमा रुमल्लिएर बस्नुहुन्न भन्ने परिपक्व र जिम्मेवार दायित्वतर्फ सबैको बडा नम्रतापुर्वक ध्यानाकर्षण गराउन चाहन्छु यो बर्षको बजेट उपरको छलफल बाँकी छ  िनेपाली जनताका अन्य कैयन जिवन्त मुद्दामा छलफल गर्नुछ ।

प्रधानमन्त्रीजिलाई संसद नचाहिएला, तर प्रतिपक्षलाई संसद  चाहिएको छ फेरि कुनैदिन छापामार शैलीमा प्रधानमन्त्रीजि फेरि आउनु होला, तर म उहाँलाई अब खोज्न चाहन्न । 

तर प्रधानमन्त्रीले बोलेकै कुरामा मात्रै अल्मलिएर , गरिमामय संसदको अमुल्य समय खेर फाल्नुहुन्न भन्ने जिम्मेवारीबोध गर्ने कार्यमा कमजोरी गर्न पनि चाहन्न ।

 ’नेपालले पनि भारतको सिमा मिचेको छझ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति गैह्र जिम्मेवारपुर्ण थियो आपत्तिजनक थियो र लज्जास्पद अभिव्यक्ति थियो तर यदि हाम्रो संसदमा लगातार ५ दिनसम्म ५ जना अन्तर्राष्ट्रिय पर्यवेक्षक राखेर छलफल गरियो भने ५ दिनपछि तिनले निष्कर्षमा पक्कै लेख्नेछन् – नेपालले भारतको सिमा मिचेको कुरा सत्य हो रहेछ किनकी सत्ताको टेपले टालिएका ओठहरु, सत्यको पक्षमा बोल्न सक्दैनन् सबै सांसद बोल्ने हो भने ती बिदेशी पर्यवेक्षकहरुले लेख्नेछन् – नेपालको संसदको बहुमत सांसदले स्विकारेका छन् ’नेपालले भारतको सिमा मिचेकै होझ किनकी ’मिचेको होईन भन्ने संख्या त संसदमा अल्पमतमा छ ।

बहुमत सांसदले त्यो स्विकारेको लज्जास्पद दृश्य झल्झली सम्झन्छु सभामुख महोदय म – त्यो दिन जब प्रधानमन्त्रीजिले त्यस्तो बोल्नुभयो, तब रास्वपाका माननीय सदस्यहरुले समर्थनमा ठोक्नुभएको थियो टेबुल– ड्याङ ÷ ड्याङ ÷ ड्याङ गरेर।

माफ पाउँ सभामुख महोदय,
मैले यो जन्ममा देखेको अहिले सम्मकै सबैभन्दा लज्जास्पद , र सबैभन्दा दुःखद दृश्य थियो त्यो !! त्यो दिन मैले सम्झिएँ सभामुख महोदय ,
जननायक विपि कोइरालाले प्रधानमन्त्री छँदा समीक्षा दैनिकका सम्पादक मदनमणी दिक्षितलाई बोलाएर भन्नुभएको वाक्य–म सँग संसदमा दुई तिहाई छ, मेरो कमजोरी केलाउन प्रतिपक्षको स्वर दह्रो सुनिएको छैन त्यसैले म बाट गलत काम हुन नदिन तपाईंले आफ्नो पत्रीकाबाट मेरो गल्ती ÷ कमजोरी एक एक केलाएर लेखिदिनुस् है !

विपिले आफ्नै पार्टीका सांसदहरूलाई पनि प्रेरित गर्नुभयो – र भन्नुभयो – तिमी पार्टीको सांसद मात्र होइन, जनताको सांसद हौ, तिमीले अन्तरआत्माको आवाज सुन्न र जीवन्त आवाज उठाउन बन्द गरेका दिन बुझ्नु तिमिसँग सास फेरिरहेको तर निर्जीव शरीर मात्रै बाँकी छ ।

तर सभामुख महोदय, 
आजको संसदमा को निर्जीव छन् , को सजिव छन् , कित्ताकाटको बाटोमा म जान चाहन्न तर यत्ती भन्न चाहन्छु – प्रतिपक्ष जिउँदो छ र प्रतिपक्षमा रहेका दलहरू र प्रत्येक सांसदहरू सरकारले गर्ने राम्रो काममा समर्थन र साथ अनि गलत काममा प्रश्न ÷ प्रश्न र प्रश्न बोकेर जीवन्त उभिएका छन् ।

संसारभरि नै लोकतान्त्रिक पद्धतिको प्रतिष्ठा र संसदको गरिमा त्यसको प्रमुख नेतृत्वमा रहेको व्यक्ती अनि मुख्य दलको गतिविधिमा धेरै निर्भर हुन्छ फागुन २१ को निर्वाचन पश्चात बन्नुभएको प्रधानमन्त्री अनि ’ थिति बसाल्ने संकल्प ’ सहित पहिलो पार्टीले साँच्चै थिति बसाल्ला भन्ने अनुमान गरेका थियौं । 
तर त्यसको ठिक विपरीत प्रधानमन्त्री नै थिति तोड्ने बाटोमा बेपरवाह लागिरहनुभएको छ अनि सच्याउनुपर्ने र ठिक ठाउँमा ल्याउन ध्यान दिनुपर्ने पार्टीका सबै शिर्ष मित्रहरू खुलेर समर्थन पनि गर्न नसक्ने र विरोध पनि गर्न नसक्ने अजिबको जिन्दगी यतिबेला बाँचिरहनुभएको छ । 

तर सभामुख महोदय, 
नागरिकले एक एक हिसाब राखिरहेका छन् भन्ने कुरामा सरकार अनि सत्तारूढ पार्टी रास्वपा सजग बनोस् भनेर म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु 

नागरिकले तपाईंको पारदर्शिताको शैलि, शुशासनको दृश्य , मानवताको चित्र अनि रास्ट्रबादको वास्तविक चरीत्रको एक एक घटना निरन्तर नियालिरहेका छन् मैले सुनेको छु– गएको निर्वाचनमा मत दिएका मध्ये कतिपयले ’कालो डायरी  अभियान शुरु गरेका छन् त्यो डायरीमा तिनले तपाईंका एक एक कर्मको सायद टिपोट गरेर राख्नेछन् ।

म नम्र ढंगले आग्रह गर्दछु– कालो डायरी अभियानका सदस्यहरुलाई नकारात्मक रुपमा नलिनु, तिनले कमजोरी केलाइदिएपछी तपाईंहरुलाई सच्चिन सहयोग पुग्नेछ । तिनले सायद यसरी टिपिरहेका होलान् नि ।

सम्माननीय राष्ट्रपतिले सम्मानित सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला हाम्रा सम्माननीय प्रधानमन्त्रीले एकाएक संसद बङ्क गरिदिनुभयो । संसदीय इतिहासमा यस्तो कहिल्यै भएको थिएन । नेपालमा मात्र होईन संसारमै यस्तो कहिँ भएको छैन । तिनको डायरिको टिपोटमा यो पनि होला ।

प्रधानमन्त्रीलाई सरकारका एक कर्मचारीले व्यक्तिगत सम्बन्धका कारण म्यासेज पठाए बापत, तिनलाई कुनै पक्राउ पुर्जी बेगर घरबाट उठाइयो । अनि प्रधानमन्त्रीले पुरानै शैलीमा फेरि लेख्न भ्याउनु भयो , तिनै र त्यस्ता सबै कर्मचारीको हुर्मत लिने स्ट्याटस ।

डायरीमा यो पनि लेख्दै होलान् टिभीमा कार्यक्रम चलाउँदा रास्टवादको प्रश्नमा बाघ बनेर गर्जिएका कोहि मित्र, अहिले म्याउँ नगरी फर्किनु भो !! कालो डायरीमा यो पनि होला

शुशासनको नारा दिएर चुनाव जित्ने, तर सांसदलाई भ्रष्टाचारको मुद्दा लागे निलम्बन नहुने गरि संसदको नियमावली बनाउने ?? शुशासनको प्रश्नमा यो पनि पक्कै होला छानबिन आयोगका नाममा छलछाम आयोग बनाउने, तब प्रतिवेदन पढ्नै परेन, दोष विहिन करार, आफैं झाँक्री ÷ फेरि पुरस्कार !

हिजो प्रश्न गर्दा – मन्त्रीका बारे प्रश्न उठ्दा सबै आगो, आज अर्थमन्त्रीका बारे गम्भीर प्रश्न उठ्यो, तर सबै ’बरफ त्यो डायरिमा यो पनि टिपोट पनि परेकै होला ।

डायरीमा टिप्नेहरुले ’इन्द्रबहादुर राईको नाम पनि टिपेका होलान् सभामुख महोदय मार्फत शोध्न चाहन्छु प्रधानमन्त्रीजिलाई – के तपाईं इन्द्रबहादुर राइलाई चिन्नुहुन्छ ? 
सायद चिन्नुहुन्न , बल्खुमा जसले टहरा भत्काइन लागेको देखेर यो दुनियाँबाट आफैं सँग बिदा मागे अनि बिदा लिए ।

त्यसैले डायरीमा टिप्नेले शोधेर लेखेका होलान् – रास्वपा सरकार तिम्रो राज्यमा गरीब सुकुम्बासीको जिन्दगीको केहि मूल्य छ ??

सम्माननीय सभामुख महोदय , 

 दुनियाभरि संसदमा राष्ट्रध्यक्षले सरकारको नीति तथा कार्यक्रम पढ्ने परम्परा छ र त्यो नीति तथा कार्यक्रम राष्ट्रपतिले नभएर प्रधानमन्त्रीको नेतृत्वमा रहेको क्याबिनेटले तयार गरेको हुन्छ । आफ्नै सरकारले तयार गरेको देशको वार्षिक कार्यतालिका ÷ वार्षिक कार्यनीतिका प्रति प्रधानमन्त्री स्वयंले बैठक बीचबाट निस्किएर अविश्वास प्रकट गरेको दुनियाकै संसदको पहिलो घटना थियो । 

यो घटना संसदीय मर्यादा विपरीत मात्रै होइन, सम्माननिय रास्ट्रपतिप्रती राख्नुपर्ने सम्मानको विपरीत मात्रै होइन , अस्ति फागुन २१ मा घाममा लाम लागेर भोट दिने प्रत्येक मतदाताको पनि अपमान थियो  ि

किनकी यो संसद कसैले टीका लगाइदिएर बनेको होइन, यहाँ बसेका प्रत्येक सांसद जसरी प्रधानमन्त्री मतदाताको मतबाट चुनिएर यहाँ पुग्नुभयो, त्यसरी नै पुगेका हुन् सत्तारूढ सांसदहरु पनि दास प्रथाकालिन साङ्लामा बेरिएका निरीह जीव होइनन् नि दास हुन् न लास हुन् , प्रत्येक सांसद सार्वभौम अधिकार सम्पन्न नेपाली जनताका सार्वभौम प्रतिनिधि हुन्  ितर प्रधानमन्त्रीजिले यी प्रत्येकको स्वाभिमानलाई एकदमै हलुकासँग लिनुभयो ।
यसो गरेर उहाँले संसद, सांसद र नेपाली जनताको अपमान गर्नुभएको छ ।

सम्माननीय सभामुख महोदय,

 हाम्रो संसदीय नियमावलीले विशेषगरी तीन अवस्थामा प्रधानमन्त्रीको अनिवार्य उपस्थिति र प्रत्यक्ष जवाफदेहिताको अपेक्षा गर्छ । सरकारको नीति तथा कार्यक्रमको छलफलमा,प्रधानमन्त्री र उनको मातहतको मन्त्रालय सँग जोडिएका विषयको छलफल र सदनमा सांसदहरूसँग प्रधानमन्त्रीको प्रश्नोत्तरमा ।  

यही जेठ १७ गतेको बैठकमा छापामार शैलीमाझ सदनमा उपस्थित भएर ’¥याप शैलीमाझ प्रधानमन्त्रीले जे बोल्नु भयो, त्यसले प्रधानमन्त्री पदको गरिमा ध्वस्त बनाएको उहाँले भेउ पाउनु भएन संसदको रोस्टम  ¥याप ब्याटलको स्टेज थिएन र होइन भन्ने अलिकति पनि हेक्का उहाँले राख्नु भएन ।

सम्माननीय सभामुख महोदय,

बेलायतबाट सुरु भएको संसदीय परम्परालाई दक्षिण एसियामा गरिमापूर्वक प्रतिष्ठित गराउनमा दुई राजनेताको विशिष्ट भूमिका छ। भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला। यि दुवै नेताले नियमावलीले प्रधानमन्त्रीको अनिवार्य उपस्थिति अपेक्षा गरेको बेला मात्र होइन सदनमा हुने सबै छलफलमा उपस्थित भएर संसद्को गरिमा र महत्व बढाएका थिए । 

तर जेठ १७ गते सदनमा प्रधानमन्त्रीको उपस्थिति र भूमिका  उहाँको एकलौटी र एकतर्फी चयन र छनोटको विषय थियो ।उहाँले प्रश्न लिन्छु भनेपछि हामीले प्रश्न सोधेका थियौँ। तर हाम्रो अपेक्षा यति थियो र हो कि प्रधानमन्त्रीको संसदमा उपस्थिती सारगर्भित हुनुपर्छ, त्यो दिन त्यस्तो भएन ।

उहाँ अचानक आउनु भो, अचानक बोल्नु भो , अनि दावी नै गर्नुभो – नेपालले पनि भारतको सिमा मिचेको छ 

हामीले त हाम्रा सम्मानित प्रधानमन्त्रीको ’ टंग स्लिप ’ भएको होला भन्ठानेका थियौँ । तर जे होस् संसदको रेकर्डमा रहिसकेपछि त्यसका बारेमा प्रधानमन्त्रीले संसदमा पुन उभिएर सफाई दिनुपर्छ प्रष्ट पार्नुपर्छ भन्ने हाम्रो अडान हो। सदनमा आएर त्यो कुरालाई फिर्ता लिनुहोस् । हाम्रो माग वा अडान जे भन्नुहोस् , हामीले खोजेको त्यति मात्र थियो। 

सम्माननीय सभामुख महोदय, 

२०७६ को संसदमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिपक्षले उठाएका सवाललाई ’ निम्छरो ’ शब्द प्रयोग गरेर उपेक्षा गर्दा तत्कालीन सभामुख कृष्णबहादुर महराले प्रतिपक्षी सांसदको नियमापति अनुरूप ’ निम्छरो ’ शब्दलाई रेकर्डबाट हटाउन रुलिङ गर्नुभएको थियो र संसदको रेकर्डबाट हटेको थियो । तर मलाई रेकर्डबाट हटाउन आँट नगरेका वर्तमान सभामुखलाई म अलग्गै प्रश्न बाहिर कुनै कार्यक्रममा गर्नेछु– के तपाईंलाई लाग्छ – नेपालले भारतको सिमा मिचेको छ ?

  हामीले यही सवाललाई लिएर सदन अवरोध गरिरहेका छौं तर प्रधानमन्त्री सदनमा उपस्थित हुने कुराको कुनै गुन्जायस छैन। तपाईँले यो विवादका बीच केही दिनका लागि सदन स्थगित गर्नुभयो र हिजोबाट फेरि सदन सुरु भएको छ। तर सदन सुचारु गर्ने बारेमा जुन तदारुक्ता देखिनुपर्ने हो त्यो सम्बन्धित सरोकारवाला पक्षबाट देखिएको छैन । 

सम्माननीय सभामुख महोदय, 

यसबीचमा सबैभन्दा उदेक लाग्दो कुरा के भने भारत भ्रमणमा गएका रास्वपाका सभापतिले नेपाल फर्केपछि भन्नुभयो – ‘सिमानाको बारेमा ढोल बजाएर छलफल हुन सक्दैन। 

दिल्लीमा छँदा सिमानाको ’ स ’ अनि कालापानीको ‘क’ पनि उच्चारण नगरिकन फर्केर आउनुभयो । 

परराष्ट्र मन्त्री भारत भ्रमणमा जानुभयो– उहाँले प्रधानमन्त्रीले बोलेको विषयमा प्रतिपक्षले उठाएको सन्दर्भ माथि टिप्पणी गर्नु भयो। जेष्ठ १७ यताका, पछिल्ला दिनहरूमा हामीले के देखेका छौँ भने सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू÷ नेताहरूबीच ठूलो प्रतिस्पर्धा एबं होडबाजी चलिरहेको छ – प्रधानमन्त्रीले बोल्नुभएको विषयलाई सही ठह¥याउनका  निमित्त, त्यसलाई पुष्टि गर्नका लागि ‘नेपालले भारतको भूमि मिचेकै हो’ भनेर यो कुरालाई स्थापित गर्नै पर्छ भनेर भ्रम छर्ने, अतिरञ्जित रूपमा प्रस्तुत हुने गर्नु भएको छ ।

यो विषयको छलफललाई लम्ब्याइ रह्यो भने हामीलाई डर लागेको छ  – अहिले नेपालको जति भूमि छ, त्योमध्ये आधा जति भूमि नेपालले भारतको भूमि खोसेर,मिचेर, लुटेर बनाएको हो भन्ने कुरा स्थापित हुने खतरा बढ्दै गएको छ ,यो अत्यन्तै÷ अत्यन्तै ÷ अत्यन्तै दुःखद छ ।

सम्माननीय सभामुख महोदय, 

प्रधानमन्त्रीको गैर जिम्मेवारीले सबै किसिमको पराकाष्ठा वा हद पार गरेको छ । आफूले बोलेका विषयको आयतन वा प्रभाव कति हुन्छ भन्ने कुराको हेक्का उहाँले गर्नुभएको छैन । जस्तो उदाहरणको लागि – प्रधानमन्त्रीले उक्त कथनमा के भन्नुभयो भने, सीमा विवाद समाधानका हेतु ’ हामीले बेलायतसँग कुरा गरिरहेका छौं ,यो ब्रिटिस इन्डियाले छाडेर गएको समस्या हो ।

त्यसकारण यसमा इङ्ल्यान्डले सरोकार राख्नुपर्छ। ’ प्रधानमन्त्रीले यति बोलिसकेपछि के संकट आइलाग्यो भने प्रधानमन्त्रीका समर्थक÷ प्रशंसकले रफु गर्नुपर्ने त्यसका उपर सफाई गर्नुपर्ने अवस्था आयो । त्यो गर्नका लागि परराष्ट्र मन्त्रालयले, परराष्ट्र मन्त्रीले, सिंगो राज्य संयन्त्रले हामीले बेलायतसँग नक्सा मागेका छौं भन्नुभएको छ ।

सन् २०१५ मा जतिबेला भारत र चीनले दुईपक्षीय सहमतिबाट मानसरोवरको लागि रुट खुला गरे , त्यति बेला तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारले तथ्य प्रमाणसहित दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो– कसरी त्यो भूमि हाम्रो हो, नेपालको हो भनेर, अहिले हाम्रा प्रधानमन्त्री बालेन शाहले गरेको बच्कना तर्कले गर्दा, प्रधानमन्त्रीलाई ठिक ठहर्याउनका लागि हामीले बेलायतसँग नक्साको पहुँच खोजिरहेका तर्क गरिरहेका छौं, यो सबै कुराले, हामीले के सजिलो बनाइरहेका छौं भने– भोलि भारतसँग सीमा वार्तामा बस्दा भारतीय पक्षले सन्तोषपूर्वक भन्न सक्ने भयो – नेपालको प्रधानमन्त्री सीमा सम्बन्धी अति सामान्य कुराको पनि जानकार छैनन्, उनलाई ‘क्रस बोर्डर अकुपेसन ’ र ‘ल्यान्ड इन्क्रोचमेन्ट ’ का बीचका अन्तर समेत थाहा छैन ।

नेपालले आफ्नो सीमाबारे दाबी गर्दा प्रस्तुत गरेका जति पनि ऐतिहासिक दलिल र प्रमाणहरु छन् ती दलिल र प्रमाणहरु बिना आधार पेश गरेको रहेछ भन्ने पुष्टि हुने अवस्था आउने भयो । प्रधानमन्त्रीले देखाएको एउटा सानो अज्ञानताले हाम्रा पूर्वजहरूले, हाम्रा निकटवर्ती राजनेताहरूले हाम्रो भूगोलको अखण्डतालाई जोगाउन प्रयोग गरेका सबै खाले प्रयासलाई एकैपटक विवादको भुमरीमा मात्र पारेका छैनौँ , त्यसलाई खारेज गर्ने प्रपञ्च समेत देखापरेको छ । 

सम्माननीय सभामुख महोदय, 

यस्तो परिस्थितिमा प्रमुख प्रतिपक्षको रूपमा हामी के निष्कर्षमा पुगेका छौं भने – प्रधानमन्त्रीले गरेको कुतर्कको बचाउका लागि प्रत्येक दिन थप नयाँ नयाँ कुतर्कहरू र यसको अनन्त श्रृङ्खला जारी हुने खतरा बढेको छ । हामीले राष्ट्रिय प्रतिष्ठालाई लोकलाजको विषयबाट जोगाउन पनि यो अवस्थालाई तत्काल रोक्न चाहन्छौं । प्रधानमन्त्रीले जग्गा भन्नुभएको हो, भूमि भन्नुभएको होइन। कसैले यो तर्क गरेको छ, कसैले त्यो तर्क गरेको छ कुतर्कको बाढी चलेको छ । 

 सरकारी पक्षले– विशेषगरी परराष्ट्र मन्त्री र रास्वपाका सभापतिले समेत भारतबाट प्रकाशित हुने पत्रिका हिन्दुस्तान टाइम्समा’ हामीसँग विगतको ब्यागेज छैन’ भनेर बारम्बार दोहोर्याउनु भएको छ । यसको अर्थ के हो ? यसबारेमा पनि उहाँहरुले प्रष्ट पार्नुपर्छ ।

राजनीतिशास्त्रमा एउटा देश बन्नको लागि राष्ट्र बन्नको लागि चारवटा कुरा आवश्यक मानिन्छ – 
भूगोल ,
जनसङ्ख्या ,
सरकार र सार्वभौमसत्ता 
चैत्र १३ गते रास्वपाको सरकार बनेपछि के यी चारवटै कुरा फेरिएका हुन् ?  भूगोल, जनसङ्ख्या र सार्वभौमसत्ता पूर्ववत नै कायम छ ! फेरिएको एउटा सरकार मात्र हो, बाँकी कुरा त ज्युँ का त्युँ छन् ।

हिजो कुनैबेला माओवादीका साथीहरूलाई पनि पहिलोपटक सरकारको नेतृत्व गर्दा यस्तै भ्रम परेको थियो, आज त्यो भ्रमले रास्वपाका साथीहरूलाई खर्लप्पै निलेको अनुभुती मलाई भएको छ ।

सम्माननीय सभामुख महोदय, 

दुई देशका बीचको सम्बन्धका विषयमा कुनै एउटा राजनीतिक दलले सरकार फेरिना साथ त्यसको दर्शन सिद्धान्त अनुसार विदेश नीतिमा केही केही आंशिक बदलाव हुन् सक्छन्, त्यो कुनै अन्यथा होइन। तर हामीले आज ऐतिहासिक यथार्थ र राजनीतिशास्त्रमा स्थापित देशदेशबीच सम्बन्धका सर्वजनिन् तथ्यहरूको उपेक्षा गरेर कसलाई सजिलो बनाइरहेका छौँ ? उदाहरणको लागि हामीले राजसंस्थात्मक व्यवस्थालाई फ्यालेर गणतान्त्रिक व्यवस्था लिएर आएका हौं। तर त्यसको मतलब हामीले पृथ्वी नारायण शाहले देशको एकीकरणको नेतृत्व गरेको कुरालाई तोडमोड गर्न सक्दैनौँ। हामीले त्यो तथ्यलाई चाहेर पनि मेट्न वा नयाँ बनाउन सक्दैनौं । नेपाली कांग्रेस पार्टीले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति प्रवर्तन गर्दा हाम्रा श्रद्धेय संस्थापक नेता नेपाली लोकतन्त्रका आदि पुरुष बीपी कोइरालाले भूराजनीतिक खिचातानीले भूगोलको आधारमा साना देशहरूको सार्वभौमसत्ता मात्र नभएर तिनीहरूको अस्तित्व नै खतरामा परेको बेला आफ्नो ज्यानलाई हत्केलामा राखेर नेपाल फर्किएको कुरा सम्मानित सदनमा स्मरण गर्न चाहन्छु । 

जब जब नेपालको अखण्डता, सार्वभौमसत्ता ,राष्ट्रिय एकता खतरामा परेको छ। त्यतिबेला नेपाली कांग्रेसले कहिले पनि पक्षविपक्ष हेरेको छैन। को सत्तामा छ ? भनेको छैन, त्यस्तो राष्ट्रिय संकटका बेला नेपाली कांग्रेसको अर्जुन दृष्टि जहिले पनि राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई सुदृढ गर्ने बारेमा केन्द्रित रहेको छ ।

 हामीले अहिलेको चुच्चे नक्सा जारी गर्ने बेलामा नेकपा एमालेका नेता केपी ओली प्रधानमन्त्री हुनुहुन्थ्यो,यो पहिलो गणतान्त्रिक संसदको कुरा थियो, हामीले त्यतिबेला त्यसको लाभ एमालेलाई हुन्छ वा ओलीलाई फाइदा हुन्छ भनेर हेरेनौँ, कांग्रेसले राष्ट्रियताको विषयमा कहिले पनि सानातिना वा झिना मसिना कुरामा अल्झिएको छैन ।

सम्माननीय सभामुख महोदय,

आज यो संवेदनशील विषयमा कतिपय साथीहरुको प्रधानमन्त्रीको राजीनामा माग्नुपर्छ, सरकारलाई अप्ठ्यारो पार्नुपर्छ भन्ने कुरा पनि आएका छन्, हामीले अहिले प्रधानमन्त्रीको राजिनामा मागेका छैनौँ । 

नेपाली कांग्रेसले सरकारलाई अप्ठ्यारो पार्न सक्ने विषय यही हो, यही मौकाको फाइदा छोप्नुपर्छ भन्ने सुझावहरु नआएका होइनन्, सीमा विवादको बारेमा प्रधानमन्त्रीको अभिव्यक्तिले गर्दा यो विषय लम्बिँदै र तन्किँदै जाँदा हाम्रो राष्ट्रिय हित र राष्ट्रियता थप कमजोर हुने अवस्था बनेको छ ।  

हामीले यो अवस्थामा एउटा पोजिसन लिएका छौं, प्रधानमन्त्रीले सदनमा आएर सफाई दिनुपर्छ भनेका छौं, त्यसले गर्दा उहाँले भुलबस यो कुरा बोल्नुभएको कुरा सदनको रेकर्डमा र इतिहासमा दर्ज हुन्छ। त्यसले नै यो विषयको बैठान मात्र होइन, देशको हित हुन्छ भन्ने निष्कर्षमा हामी छौं ।

तर हामीलाई अहिले आएर के महसुस भएको छ भने हामीले यो विषयलाई लिएर सदनलाई अवरोध गरिराख्दा देश र जनताका अनेकौं मुद्दाले संसदमा प्रवेश पाउँदैन र अनेकौं जरुरी छलफललाई असर पुग्छ । 

आफ्नो स्थापनाकालदेखि राष्ट्रिय शक्तिको जिम्मेवारी बोधबाट अनुप्राणित रहिआएको नेपाली कांग्रेसले यही निहुमा, यही बहानामा संसद अवरोध गर्ने कार्यले सबैभन्दा ठूलो घाटा देशलाई हुन्छ, हाम्रो मातृभूमिलाई हुन्छ भन्ने हाम्रो बुझाई छ ।

त्यसैले म नेपाली कांग्रेसको तर्फबाट प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सम्माननीय सभामुखलाई यो जानकारी गराउँछु कि– तपाईँले प्रधानमन्त्रीलाई रुलिङ गरेर सदनमा ल्याउन सक्नुभएन, प्रधानमन्त्री सदनमा आउनुभएन, अब प्रधानमन्त्रीको माफीको कुरा गौण भएको छ, किनभने प्रधानमन्त्रीले अब माफी संसदसँग होइन, यो माफी देश र जनतासँग माग्नुपर्छ । 

सम्माननीय प्रधानमन्त्रीलाई लागेको होला, मैले संसद्को उपेक्षा गर्न सक्छु, जुन उहाँले गरिराख्नुभएको पनि छ तर इतिहासका प्रतिको जवाफदेहिताबाट उहाँ अनन्त काल सम्म भाग्न सक्नु हुन्न । 

सम्माननीय सभामुख महोदय, 

 प्रतिपक्षका रूपमा हामीलाई यति विश्वास छ कि – जुन देश र जनताले उहाँलाई प्रधानमन्त्री बनाए, त्यो कुर्सीमा आसिन गराए तिनले प्रधानमन्त्रीका एकएक कुकृत्यको हिसाब राख्ने छन्, जनताको कालो डायरी को प्रसंग अघिनै मैले जो भनिसकेको छु ति आजको मितिमा प्रधानमन्त्री गैह्र जिम्मेदार बन्नुभयो भनेर प्रतिपक्ष गैह्र जिम्मेवार बन्न सक्दैन ।

 हामी सदनको रेकर्डमा यो कुरा दर्ज गर्न चाहन्छौं, प्रधानमन्त्रीले जेठ १७ गते सदनमा बोलेको कुरा घोर निन्दनीय र आपत्तिजनक छ। त्यो अभिव्यक्तिको हामी भत्र्सना गर्दछौँ। यो विषय हामी सदनमा निरन्तर उठाइराख्नेछौँ र जनताका बीचमा पनि लिएर जानेछौँ। तर यही बहानामा रास्वपाले वा प्रधानमन्त्रीले वा उहाँहरूको टिमले राष्ट्रको थप बेइज्जत गर्ने कुरा हामी हुन दिँदैनौँ । हामी त्यसलाई तकाल रोक्न चाहन्छौं ।

अत यो प्रकरणमा संसद अवरुद्ध गरिआएकोमा प्रधानमन्त्रीको गैर जिम्मेदारीको कुनै ओखती तत्कालका लागि नदेखिएकाले त्यो नीति बदलेको कुरा सम्माननीय सभामुखलाई जानकारी गराउँदछु । 

धन्यवाद, 

जय नेपाल ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट