काठमाडौ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ । काठमाडौँको धुम्बाराहीस्थित पार्टी प्यालेसमा विद्युतीय मतदान मेसिन प्रयोग गरेर मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।
प्रदेश सभापति पदका लागि अच्युतम लामिछाने र उत्सव अर्यालबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । सुरुमा चार जनाले उम्मेदवारी दिएका भए पनि कृष्णमान शाक्य र हरिबहादुर खत्रीले पछि नाम फिर्ता लिएको निर्वाचन समितिले जानकारी दिएको छ ।
उम्मेदवारी फिर्ता लिएका दुवै नेताले उत्सव अर्याललाई समर्थन गर्ने घोषणा गरेका छन् । खत्रीले सार्वजनिक रूपमै अर्याललाई सहयोग गर्ने बताएका छन् भने शाक्यले पनि उनलाई नैतिक समर्थन रहने संकेत गरेका छन् । यसले अर्याल पक्षको स्थिति अझ बलियो भएको दाबी गरिएको छ ।
यता, संस्थापन पक्षको प्रतिनिधित्व गर्ने अच्युतम लामिछानेले भने आफूसँग पर्याप्त प्रतिनिधि समर्थन रहेको दाबी गर्दै आएका छन्। मतदानअघि दुवै समूहले प्रतिनिधिहरूसँग सक्रिय छलफल र भेटघाट गरेका थिए।
यसअघि मंगलबार हेटौँडामा सुरु भएको बागमती प्रदेश अधिवेशन विवाद र प्राविधिक समस्याका कारण रोकिएपछि प्रक्रिया काठमाडौँ सारिएको हो। अब आजको मतदानबाट सभापति सहित प्रदेश समितिका सदस्यहरू चयन हुनेछन्।
पार्टीको विधानअनुसार पहिले सभापति र सदस्यहरूको निर्वाचन हुन्छ, त्यसपछि निर्वाचित सदस्यहरूबाट पदाधिकारी चयन गरिने व्यवस्था छ । बागमती प्रदेशमा ६५ सदस्यीय समिति बन्नेछ ।
प्रतिक्रिया दिनुहोस