काठमाडौं । चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) को राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता भएको छ । मंगलबार बिहान बेइजिङमा भएको उक्त भेटवार्तामा नेपाल–चीन द्विपक्षीय सम्बन्धका विविध आयामहरूमा केन्द्रित रहेर छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।
भेटका क्रममा दुई देशबीचको विकास सहकार्य, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदानप्रदान तथा जनता–जनताबीचको सम्बन्ध (पिपुल–टु–पिपुल बन्ड) लाई थप सुदृढ र गतिशील बनाउने विषयमा गहन विचार आदानप्रदान भएको छ।
नेपाल–चीनबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने सम्बन्धमा सिपिपिसिसीका अध्यक्ष वाङले व्यक्त गरेको दृढ प्रतिबद्धताको परराष्ट्रमन्त्री खनालले उच्च प्रशंसा गरे । सो अवसरमा मन्त्री खनालले दुई देशबीचको परम्परागत मित्रता र पारस्परिक सहयोग आगामी दिनमा अझ सशक्त र उचाइमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
भेटवार्तापछि मन्त्री खनालले आजै बेइजिङस्थित ऐतिहासिक ‘ह्वाइट पागोडा’ को भ्रमण गर्ने कार्यक्रम रहेको छ। त्यसलगत्तै उनले चिनियाँ सञ्चारमाध्यम तथा अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सलाई अन्तर्वार्ता दिने तालिका तय भएको छ।
परराष्ट्रमन्त्री खनाल आजै अपराह्न नेपाली दूतावास बेइजिङमा आयोजना हुने विशेष लगानी सम्मेलनमा मुख्य अतिथिका रूपमा सहभागी हुनेछन्, जहाँ चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानीका अवसरहरूबारे ब्रिफिङ गरिनेछ ।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा गत आइतबार बिहान बेइजिङ पुगेका मन्त्री खनाल र विदेशमन्त्री यीबीच सोमबार नै प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता सम्पन्न भइसकेको छ । मन्त्री खनाल आफ्नो चारदिने भ्रमण सम्पन्न गरी भोलि असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस