मुगु । जिल्लाको सोरु गाउँपालिका–७ मा रहेको भेडी स्याउ फार्म समूहले बेमौसमी रातो तथा कालो सिमी खेतीमा उल्लेखनीय सफलता हासिल गरेको छ।
समूहले करिब ५ हेक्टर क्षेत्रफलमा माघ महिनामा सिमी रोपेर जेठ महिनामै उत्पादन लिन सफल भएपछि स्थानीय किसानहरू उत्साहित बनेका छन्।
यस वर्ष अनुकूल मौसम, आधुनिक खेती प्रविधिको प्रयोग तथा समयमै गरिएको व्यवस्थापनका कारण सिमीको उत्पादन अपेक्षाभन्दा राम्रो भएको समूहले जनाएको छ। खेतभरि लटरम्म फलेको रातो र कालो सिमीले किसानको मेहनतलाई सफल बनाएको छ।
समूहका अध्यक्ष प्रेम बिष्टका अनुसार बेमौसमी सिमी खेतीबाट राम्रो उत्पादनसँगै बजारबाट पनि उत्साहजनक मूल्य प्राप्त गरिएको छ। “यस पटक उत्पादन निकै राम्रो भएको छ। किसानहरूमा थप हौसला बढेको छ र आगामी वर्ष अझ ठूलो क्षेत्रफलमा खेती विस्तार गर्ने योजना बनाएका छौँ,” उनले भने।

यो खेती राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई, मुगुको ५० प्रतिशत अनुदान सहयोगमा सञ्चालन गरिएको हो। कार्यालय प्रमुख तेज विक्रम मल्लले मुगुजस्तो हिमाली जिल्लामा बेमौसमी तरकारी उत्पादनले किसानको आय वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनका अनुसार सरकारी अनुदान, प्राविधिक सहयोग र किसानको सक्रिय सहभागिताको संयोजनले उत्पादनमा सकारात्मक नतिजा देखिएको छ। आगामी दिनमा यस्ता व्यावसायिक खेतीलाई अझ विस्तार गर्दै किसानलाई आत्मनिर्भर र आयमुखी बनाउने कार्यक्रमलाई निरन्तरता दिइने उनले जानकारी दिए।
सोरु गाउँपालिकामा बेमौसमी तरकारी खेतीको सम्भावना उच्च रहेको भन्दै स्थानीय किसानहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरेका छन्। सफल उत्पादनसँगै भेडी स्याउ फार्म समूहले जिल्लामै व्यावसायिक बेमौसमी सिमी खेतीको उदाहरण प्रस्तुत गरेको स्थानीयहरूको भनाइ छ।
प्रतिक्रिया दिनुहोस