चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदको प्रतिस्पर्धा रोचक बन्दै गएको छ। उम्मेदवार विपिन आचार्यको पक्षमा समर्थन बढ्दै जाँदा उनी प्रतिस्पर्धामा थप बलियो देखिएका छन्।
महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरेकी छन्। उक्त पत्रकार सम्मेलनमा विपिन आचार्य पनि उपस्थित थिए। उम्मेदवारी फिर्ता लिएर समर्थन जनाएकोमा विपिनले रञ्जुप्रति आभार व्यक्त गरेका छन्।
यसअघि महामन्त्री पदका उम्मेदवार गणेश पराजुली, प्रमोद न्यौपाने, कविन्द्र बुर्लाकोटी, जगदीश खरेल तथा राजु पाण्डेले पनि आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गर्ने निर्णय सार्वजनिक गरिसकेका छन्।
लगातार उम्मेदवारहरूले समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएसँगै महामन्त्री पदको प्रतिस्पर्धामा विपिन आचार्यको अवस्था थप मजबुत बनेको देखिएको छ।
स्रोतका अनुसार रास्वपा सभापति रवि लामिछाने सुरुदेखि नै विपिन आचार्यको पक्षमा रहेका थिए। आचार्यलाई सर्वसम्मत बनाउने प्रयासस्वरूप उनले आफू निकटका केही नेताहरूलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको बताइन्छ। त्यस्तै, स्रोतका अनुसार सभामुख डीपी अर्यालको समेत आचार्यलाई समर्थन रहेको दाबी गरिएको छ।
उपसभापति स्वर्णिम वाग्ले र नेता शिशिर खनालको समर्थन महामन्त्रीका अर्का उम्मेदवार मनीष झालाई रहेको बताइन्छ ।
यद्यपि बालेन शाह निकट मानिएका राजुनाथ पाण्डेले उम्मेदवारी फिर्ता लिए पनि उनले अन्ततः कसलाई समर्थन गर्ने भन्ने विषय सार्वजनिक भएको छैन। यही कारण अहिले रास्वपाको महामन्त्री पदको निर्वाचनमा ‘बालेन फ्याक्टर’ निर्णायक बन्न सक्ने चर्चा पार्टीभित्र चुलिएको छ, यदि त्यस्तो भयो भने अन्तिम प्रतिस्पर्धा विपिन आचार्य र मनीष झाबीच हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस