नेपालमा एमजी कम्युट ईभी सार्वजनिक भएकाे छ । जेएसडब्लू एमजी मोटर इन्डिया र नेपालका आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालि (गोल्छा अर्गनाइजेशन) ले उक्त ईभी सार्वजनिक गरेकाे हाे ।
नेपालमा साे गाडीकाे शुरुवाती मूल्य ३४ लाख ९९ हजार निर्धारण गरिएको छ । जसमा १०० किलोवाट माेटर क्षमता रहेकाे छ । जीओ अटोमोबाइल्स प्रालिका प्रबन्ध निर्देशक आकाश गोल्छाले अहिलेको सन्दर्भमा नेपालका लागि कम्युट ईभी नै उपयाेक्त हुने बताए । बजेट संशोधनपछि यो अझ उपयुक्त विकल्प बनेको उनकाे भनाइ छ । उनका अनुसार गाडीमा पर्याप्त लगेज स्पेस र लेगरुम, आरामदायी सिट तथा सहज र किफायती स्पेयर पार्ट्स उपलब्ध गराइएको छ ।
एमजीको विद्युतीय प्लेटफर्ममा आधारित कम्युट ईभीले एकपटकको पूर्ण चार्जमा ३३२ किलोमिटरसम्म (MIDC प्रमाणित) यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ । सवारीको भित्री संरचना यात्रु केन्द्रित बनाइएको छ । यसमा १३५ डिग्रीसम्म झुकाउन मिल्ने सिट, फ्ल्याट लेआउट तथा ६०४ लिटर क्षमताको फराकिलो लगेज स्पेस उपलब्ध छ । कम्पनीका अनुसार यो सवारी व्यक्तिगत प्रयोगभन्दा बढी होटल ट्रान्सफर, विमानस्थल पिकअप तथा कर्मचारी आवतजावतलाई लक्षित गरी विकास गरिएको हो ।
नेपालको आतिथ्य तथा पर्यटन क्षेत्र विस्तार भइरहेका बेला कम खर्च र यात्रुको सहजतालाई ध्यानमा राखेर यस्तो सवारीको माग बढिरहेको कम्पनीको भनाइ छ । एमजी कम्युट ईभीले यात्रुका लागि आरामदायी अनुभव र व्यवसायीका लागि शान्त तथा शून्य उत्सर्जनयुक्त विकल्प प्रदान गर्ने कम्पनीको जनाएको छ ।
प्रत्येक एमजी कम्युट ईभीसँग ३.३ किलोवाटको पोर्टेबल चार्जिङ केबल स्ट्यान्डर्ड रूपमा उपलब्ध हुनेछ । साथै गाडीमा अल-डिस्क ब्रेक, इलेक्ट्रिक पार्किङ ब्रेक, अटो होल्ड, हिल डिसेन्ट कन्ट्रोल तथा स्पेयर टायरका लागि छुट्टै स्थान समेत समावेश गरिएको छ, जसले नेपालका विविध सडक तथा भौगोलिक अवस्थाका लागि यसलाई उपयुक्त बनाउने कम्पनीले जनाएको छ ।
कम्युट ईभी सार्वजनिक सँगै एमजी र जीओ अटोमोबाइल्सले व्यक्तिगत सवारीभन्दा बाहिर व्यवसायीक तथा संस्थागत विद्युतीय गतिशीलता क्षेत्रमा आफ्नो उपस्थिति थप विस्तार गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस