काठमाडौं । पछिल्ला निर्वाचन र जनमतमा चुनौती सामना गरेका चार पूर्वप्रधानमन्त्री आइतबार पहिलोपटक एउटै मञ्चमा देखिएका छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल एकै मञ्चमा उपस्थित भएका हुन्।
लामाेसमय पछि यी शीर्ष नेताहरू पहिलोपटक सार्वजनिक रूपमा एउटै कार्यक्रममा देखिएका हुन्। पछिल्ला वर्षहरूमा नयाँ पुस्ताको राजनीतिप्रतिको आकर्षण बढ्दै जाँदा परम्परागत दल र पुराना नेतृत्वमाथि प्रश्न उठिरहेका बेला उनीहरूको संयुक्त उपस्थितिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
विशेषगरी केही दिनअघि प्रचण्डले नेकपा एमालेसँग संसद् र सडक दुवै तहमा कार्यगत एकता हुन सक्ने अभिव्यक्ति दिएका थिए। त्यसलगत्तै चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखिनुले वाम राजनीतिक ध्रुवीकरण वा सहकार्यबारे नयाँ चर्चा सुरु भएको छ।
यद्यपि कार्यक्रममा सहभागी नेताहरूले औपचारिक रूपमा कुनै नयाँ राजनीतिक सहकार्यको घोषणा गरेका छैनन्। कार्यक्रम मदन भण्डारीको योगदानको स्मरणमा केन्द्रित भए पनि शीर्ष नेताहरूको संयुक्त उपस्थितिले समकालीन राजनीतिक सन्देश दिएको कतिपयले बताउने गरेका छन ।
प्रतिक्रिया दिनुहोस