२०८३, आषाढ १६ गते

मंगलवार, आषाढ १६ गते २०८३

धार्मिक पर्यटनमा नयाँ गन्तव्य: जोमसोममा कुँदिएको २२ फिट अग्लो 'विश्वकै ठूलो' शालिग्राम शीला बन्यो आकर्षणको केन्द्र

मंगलवार , आषाढ १६, २०८३

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा कुँदिएको विश्वकै ठूलो २२ फिट उचाइको शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ ।

गत वैशाखअघि कालिगण्डकी नदीको छेउमा रहेको विशाल ढुङ्गालाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका मूर्तिकारहरूले शालिग्राम शीलाको आकार दिएर मूर्ति निर्माण गरेपछि उक्त स्थान धार्मिक पर्यटकका लागि आकर्षक केन्द्र बन्दै गएको हो ।

घरपझोङ गाउँपालिकाको आयोजना र एकीकृत सेवा कार्यालय मुस्ताङको सहलगानीमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँगको समन्वयमा गत वैशाख ७ देखि २१ गतेसम्म जोमसोममा १५ दिने मूर्तिकला कार्यशाला सञ्चालन गरिएको थियो । कार्यशालामा सहभागी ३६ भन्दा बढी मूर्तिकारले कालिगण्डकी नदीको तटमा रहेका विशाल ढुङ्गालाई विभिन्न स्वरूपका मूर्तिमा रूपान्तरण गरेका थिए ।

मूर्तिकारहरूले जिल्लाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक तथा जैविक विविधतालाई समेट्दै कालिगण्डकी नदीका डेढ दर्जन ढुङ्गालाई कलात्मक मूर्तिका रूपमा प्रस्तुत गरेका थिए ।

मूर्तिकारहरूले कार्यशालाका क्रममा कालिगण्डकी नदी किनारका ढुङ्गामा शालिग्राम शीला, भगवान् महादेव, पार्वती, विष्णु, बुद्ध, हिमचितुवा, हिमाली भेँडा, बौद्ध स्तूप, माने, छोर्तेनलगायत सम्पदाका कलात्मक मूर्ति सिर्जना गरेका घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । उनका अनुसार मूर्तिकारद्वारा कुँदिएका डेढ दर्जन मूर्तिमध्ये अहिले सबैको ध्यान विश्वकै ठूलो आकारको शालिग्राम शीलातर्फ तानिएको छ ।

घरपझोङ गाउँपालिकाले उक्त शालिग्राम शीलाको प्राणप्रतिष्ठा गरेसँगै धार्मिक पर्यटकको चहलपहल बढेको अध्यक्ष लालचनले जानकारी दिए । उनका अनुसार कालिगण्डकी नदीछेउको विशाल ढुङ्गामा कुँदिएको उक्त मूर्तिको भारतको कर्नाटक राज्यस्थित शृङ्गेश्री शारदा पीठका पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य स्वामी विधुशेखर भारती महाराजले विशेष पूजाअर्चनासहित प्राणप्रतिष्ठा गरेका हुन् ।

भारतीय स्वामी महाराजबाट कालिगण्डकी नदीमा निर्मित शालिग्राम शीलाको गत जेठको पहिलो साता विभिन्न धार्मिक स्वामीहरूको उपस्थितिमा प्राणप्रतिष्ठा गरिएको थियो । अहिले मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आउने स्वदेशी तथा विदेशी धार्मिक पर्यटकका लागि यो मूर्ति आस्थाको केन्द्र बन्दै गएको उनले बताए ।

घरपझोङ गाउँपालिका–४, जोमसोमका कार्यपालिका सदस्य भीषण थकालीका अनुसार शालिग्राम शीलाको प्राणप्रतिष्ठापछि दैनिक एक सयभन्दा बढी दर्शनार्थीले उक्त शीलाको दर्शन तथा अवलोकन गर्ने गरेका छन् । विशेषगरी मुक्तिनाथ दर्शन गर्न आएका भारतीय दर्शनार्थीको यहाँ उल्लेख्य घुइँचो लाग्ने गरेको उनको भनाइ छ ।

उक्त शीलाको प्राणप्रतिष्ठापछि विश्वकै ठूलो आकारको शालिग्राम दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढेसँगै सदरमुकाम जोमसोममा पर्यटकको बसाइँसमेत लम्बिन थालेको कार्यपालिका सदस्य थकालीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले उक्त स्थानलाई घेराबार गरी शालिग्राम पार्क निर्माण गर्ने योजना बनाएको छ ।

उक्त शालिग्राम पार्कमा दर्शनार्थीलाई सहज हुने गरी गोरेटो बाटो निर्माण गर्नुका साथै मूर्तिकारहरूले कुँदेका अन्य मूर्तिसमेत सोही स्थानमा स्थापना गरिने कार्यपालिका सदस्य थकालीले जानकारी दिए ।

भारतको मुम्बईबाट मुक्तिनाथ दर्शन गरी फर्किएकी जेनिशा जेनले जीवनमा पहिलोपटक यति ठूलो आकारको शालिग्रामको दर्शन गर्न पाएकोमा खुसी व्यक्त गरिन् । भगवान् विष्णुको स्वरूपसहित अन्य मूर्तिको महत्व धार्मिक आस्था र विश्वाससँग जोडिएको उनले उल्लेख गरे।

मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आउने पर्यटकका लागि शालिग्राम शीला यहाँको आकर्षक धार्मिक पर्यटकीय गन्तव्य बनेको अध्यक्ष लालचनले बताए । मुस्ताङ सदरमुकाम जोमसोम बजारसँग जोडिएको कालिगण्डकी नदीको तटमा अवस्थित शालिग्राम शीला, नीलगिरि हिमाल र धौलागिरि हिमालको मनमोहक दृश्यले शालिग्राम शीला पार्क पुगेका धार्मिक पर्यटकलाई मोहित बनाउने गरेको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट