२०८३, आषाढ १७ गते

बुधवार, आषाढ १७ गते २०८३

गेटा अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द, बिरामी मर्कामा

बुधवार , आषाढ १७, २०८३

कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ ।

अस्पतालमा ती सेवाका लागि विशेषज्ञ डाक्टर नहुँदा सो सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले जानकारी दिए । 

उनका अनुसार दुई महिनाअघि नै रेडियोलोजिस्ट डा होम पन्तको कोशीमा सरुवा फिर्ता भएसँगै उक्त सेवा बन्द भएको हो । दैनिक २० जनासम्मको भिडियो एक्सरे हुने गरेको गेटा अस्पतालमा हाल सेवा बन्द भएपछि सेवा लिन आउने बिरामी बाहिर जान बाध्य छन् ।

सूचना अधिकारी कार्कीले गर्भवती जाँचका लागि स्त्री तथा प्रसूति रोग विशेषज्ञ (गाइनोकोलोजिस्ट) डाक्टरले नै भिडियो एक्सरे सेवा जारी राखेका छन् । रेडियोलोजिस्ट डाक्टर नहुँदा म्यामोग्राफी (स्तन एक्सरे जाँच) सेवा पनि बन्द भएको उनको भनाइ छ ।

उनले म्यामोग्राफीको रिपोर्टिङ पनि रेडियोलोजिस्ट डाक्टरलाई गर्नुपर्ने भएकाले रेडियोलोजिस्ट डाक्टर नहुँदा सेवा बन्द भएको बताए । म्यामोग्राफी सेवा यस क्षेत्रमा पहिलोपटक सञ्चालनमा ल्याइएको थियो ।

छ सय शय्याको भौतिक संरचना निर्माण भएको अस्पतालमा हाल ५० शय्या मात्रै सञ्चालनमा छ । अस्पतालमा सेवा विस्तारका लागि पटकपटक यस क्षेत्रका स्थानीयले दबाब दिँदै आए भए पनि हाल भएका सेवा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । 

अस्पतालमा यसअघि नै आइसीयू एनआइसीयू सेवा पनि सञ्चालन गर्ने जनाउँदै पूर्वाधार निर्माण गरिएको भए पनि सो सेवा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट