२०८३, आषाढ १७ गते

बुधवार, आषाढ १७ गते २०८३

थमन विक हत्या प्रकरण : अभिराम शर्माको जन्मकैद घटेर पाँच वर्ष, सफाइ पाएका लक्ष्मी महतो दोषी ठहर

बुधवार , आषाढ १७, २०८३

जनकपुर/ महोत्तरीमा २०७२ सालको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या भएको चर्चित घटनामा उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला आंशिक रूपमा उल्ट्याउँदै नयाँ निर्णय सुनाएको छ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पूर्व प्रतिनिधिसभा सदस्य तथा एमाले नेता लक्ष्मी महतो (कोइरी) सहित चार जनालाई पाँच वर्ष कैद सजाय हुने फैसला गरेको हो। यसअघि जिल्ला अदालत महोत्तरीले उनीहरूलाई सफाइ दिएको थियो।

उक्त घटनामा जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएका मधेश प्रदेशका निलम्बित सांसद अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेको हकमा पनि उच्च अदालतले फैसला संशोधन गर्दै जनही पाँच वर्ष कैद सजाय तोकेको छ। शर्मा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश संसदीय दलका नेता थिए। जन्मकैदको फैसला आएपछि उनी फरार रहेका छन् र प्रदेशसभाले उनलाई निलम्बन गरिसकेको छ।

त्यसैगरी संजय साह, मोहन ठाकुर र प्रदीप रायको हकमा भने जिल्ला अदालतले सुनाएको जन्मकैदको सजायलाई उच्च अदालतले सदर गरेको छ।

जिल्ला अदालत महोत्तरीका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले २०८० मंसिर २८ गते अभिराम शर्मा सहित सात जनालाई जन्मकैद सजाय सुनाएको थियो। उक्त फैसलाविरुद्ध दोषी ठहर भएका पक्षका परिवारजनले २०८१ वैशाखमा उच्च अदालतमा पुनरावेदन दिएका थिए। लामो सुनुवाइ प्रक्रियापछि करिब अढाई वर्षमा ५०औं पेशीमा पुगेको मुद्दामा अन्ततः फैसला भएको हो। यस अवधिमा ४९ वटा पेशी स्थगित भएका थिए।

थमन विक हत्या प्रकरण मधेश आन्दोलनका बेला भएको बहुचर्चित घटनामध्ये एक मानिन्छ। २०७२ भदौ २५ गते ड्युटीका क्रममा घाइते भएका असई विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुरतर्फ एम्बुलेन्समा लैजाँदै गर्दा तत्कालीन अनैठा गाविस क्षेत्रमा आन्दोलनकारीको समूहले एम्बुलेन्सबाट निकालेर कुटपिट गरेको थियो। सोही घटनामा उनको मृत्यु भएको थियो ।

a7be1b37-16d5-42cc-bed9-f70b55869148.jpg
275d5aaa-e50a-44c3-97a7-623aa6fa8126.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट