काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिने 'राष्ट्रिय उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदन अवार्ड २०२५' अन्तर्गत आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले कांस्य पदक प्राप्त गरेको छ।
काठमाडौँस्थित होटल याक एन्ड यतीमा आयोजित एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का तथा प्रमुख वित्तीय अधिकृत जगत बोहराले उक्त पुरस्कार संयुक्त रूपमा ग्रहण गरेका हुन्।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदन मानहरू तथा अन्य लेखा मापदण्डहरूको प्रभावकारी पालनाका साथै संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले उक्त सम्मान सम्पूर्ण आईएमई लाइफ परिवारका लागि गर्वको विषय भएको उल्लेख गरे। साथै, यसले वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादन थप बलियो बनाउने जिम्मेवारी प्रदान गरेको उनले बताए।
उनले यस सफलताका लागि मार्गदर्शन प्रदान गर्ने सञ्चालक समिति, कम्पनीप्रति विश्वास व्यक्त गर्ने बिमित ग्राहकहरू, अभिकर्ताहरू, समर्पित कर्मचारीहरू, सेयरधनीहरू, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरे।
कम्पनीले यसै वर्ष वित्तीय स्थायित्व, सुदृढ बजार स्थिति तथा वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च क्षमताका आधारमा 'केयर रेटिङ नेपाल' बाट 'ए माइनस' क्रेडिट रेटिङ प्राप्त गरी आफूलाई बलियो जीवन बीमा कम्पनीका रूपमा स्थापित गरेको छ।
नेपालका सबैजसो जिल्लामा फैलिएको १६० वटा शाखा तथा उपशाखा, देशभर फैलिएका ३५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जाल, सुदृढ संस्थागत सुशासन तथा वित्तीय पारदर्शिताका साथ आईएमई लाइफ “भविष्य सुनिश्चित गर्दै” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै निरन्तर अगाडि बढिरहेको छ।
प्रतिक्रिया दिनुहोस