२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

कार्गोमा ‘कपडा’ घोषणा, बाकसभित्र सुनका सयौं गहना दुई पक्राउ

बिहिवार , आषाढ १८, २०८३

काठमाडौं/  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जुत्ता, पाइन्ट, साडीलगायतका कपडा भन्दै अमेरिका पठाउन लागिएको कार्गो बाकसबाट ठूलो परिमाणमा सुन तथा चाँदीका गरगहना बरामद भएपछि दुई कार्गो कम्पनीका सञ्चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा एपेक्स लजिस्टिक प्रालिका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गो झापाका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाल रहेका छन्। उनीहरूलाई विमान सुरक्षा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो।

विमान सुरक्षा प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार, १६ असार साँझ करिब ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स अन्तर्गत अमेरिका पठाउन तयारी अवस्थामा रहेको कार्गो बाकस एक्स–रे जाँचका क्रममा शंकास्पद देखिएपछि थप परीक्षण गरिएको थियो।

कार्गोमा जुत्ता, पाइन्ट, साडी तथा अन्य कपडा रहेको घोषणा गरिएको भए पनि एक्स–रे परीक्षणका क्रममा बाकसभित्र ठूलो परिमाणमा सुन र चाँदीका गरगहना फेला परेका थिए। प्रहरीका अनुसार उक्त सामान युनिक कार्गो र एपेक्स लजिस्टिकमार्फत अमेरिका पठाउने तयारी गरिएको थियो।

प्रहरी स्रोतका अनुसार कार्गो भन्सार जाँचपास भइसकेपछि नियमित सुरक्षा प्रक्रियाअन्तर्गत गरिएको एक्स–रे परीक्षणमा गहना फेला परेका हुन् ।

बरामद गरिएका सुनका गहनामा २२ थान ठूलो नौगेडी, ४४ थान सानो नौगेडी, १६ थान चन्द्रमा, २० थान जन्तर, १८÷१८ थान सिंगल र डबल ब्रोच, ५ थान ठूलो शिरफूल, २ थान सानो शिरफूल, १६ थान नेपालको झण्डा अंकित ब्रोच, २३ थान खुकुरी आकारका ब्रोच, १८ थान मंगलसूत्र, ३९ थान मोतीमाला, १ थान रानीहार र १ थान त्रिशूल रहेका छन्।

736273175_773904135774257_5405315194070526153_n.jpg

त्यस्तै चाँदीका ४ थान गोलावा नेक्लेस, ९ थान चारपाटे नेक्लेस, २६ थान काँडावाला चुरा, यार्लिङसहितका ३ सेट शिरबन्दी, ३ जोर झुम्का, ४ थान तिलहरी र १ थान सिक्री समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार उक्त गरगहनाका वास्तविक धनी भनिएका व्यक्ति भने हाल अमेरिका पुगिसकेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै व्यक्ति तथा बरामद गरिएका सुन–चाँदीका गरगहना आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, मा बुझाइएको एसपी सिलवालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट