काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा वास्तविक सुधारका लागि सतही काम मात्र पर्याप्त नहुने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले अस्पताल फार्मेसीको बोर्ड परिवर्तन गर्दैमा नागरिकले सहज सेवा पाउने वा औषधिको मूल्यमा सुशासन कायम नहुने टिप्पणी गरेका हुन् । उनले स्वास्थ्य क्षेत्रको रूपान्तरणका लागि दीर्घकालीन योजना र व्यावहारिक समाधान आवश्यक रहेको बताएका छन् ।
पौडेलले आफू स्वास्थ्य मन्त्री हुँदा सर्वसाधारणलाई सस्तो र सुलभ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यले विभिन्न नीतिगत आधार तयार गरिएको दाबी गरेका छन् । उनका अनुसार देशभर औषधिको समान मूल्य कायम गर्न र आपूर्ति व्यवस्थालाई सहज बनाउन सेन्ट्रल बिडिङ सञ्चालनको तयारी गरिएको थियो ।
उनले विज्ञहरूको अध्ययनका आधारमा जेनेरिक औषधिको मूल्य निर्धारण तथा मूल्य समायोजनसम्बन्धी नीतिगत व्यवस्था तयार गरिएको उल्लेख गरेका छन् । साथै औषधि, स्वास्थ्य सामग्री, कस्मेटिक तथा अतिरिक्त खाद्य पोषणसम्बन्धी नियमनका लागि नयाँ विधेयक र मूल्य निर्धारण निर्देशिका पनि रायका लागि पठाइएको उनले बताएका छन् ।
पौडेलले बजेटमार्फत आवश्यक व्यवस्थापन गरिए पनि ती महत्त्वपूर्ण कामहरू पछिल्लो समय ओझेलमा परेको भन्दै नागरिकले प्रत्यक्ष राहत महसुस गर्ने गरी स्वास्थ्य क्षेत्रमा काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस